जल/वातावरण

टेकु अस्पतालबाट केही दिनमै कोरोना संक्रमित डिस्चार्ज हुने

कोरोना भाइरस संक्रमणबाट काटठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेकामध्ये दुईजना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु केही दिनमै डिस्चार्ज हुने भएका छन् । टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ ।

अस्पतालका निर्देशक डा सागर राजभण्डारीका अनुसार दुईजना कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुनेछन् ।

उहाँले भन्नुभयो, “अस्पतालमा उपचारको क्रममा रहेका कोभिड सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । दुई दिनभित्र अन्तिम रिपोर्ट आउनेछ, त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिनेछ ।”

निर्देशक डा राजभण्डारीले विगतका तुलनामा पछिल्ला दिनमा अस्पतालको सेवामा सहजता आएको बताउँदै जनशक्ति तथा उपकरणको कमी नभएको जानकारी दिनुभएको छ । कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको र लकडाउनका कारण पनि उल्लेख्य सङ्ख्यामा बिरामी नआएको उहाँको भनाइ छ ।

विश्व माहामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखा परेपछि यो निकै चिन्ताको विषय बनेको थियो । तर, कोरोनाको सङ्क्रमण देखिएपछि नेपालमा पहिलोपटक टेकु अस्पतालमा भर्ना भएका बिरामी उपचारपछि निको भएर घर फर्किन लागेका छन् ।

यसअघि नेपालमा पहिलोपटक कोभिडको सङ्क्रमण फेला परेका एक नेपाली उपचारपछि घर फर्किसकेका छन् । कोभिड पहिलोपटक देखापरेको चीनको वुहान शहरबाट अएका उनी उपचारपछि घर फर्किएका थिए । नेपालमा दोस्रोपटक गत चैत १० गते १९ वर्षीया युवतीमा कोभिडको सङ्क्रमण देखापरेको थियो ।

नेपालमा हालसम्म नौ जनामा कोभिडको सङ्क्रम देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन् । नेपालमा दोस्रोपटक गत चैत १० गते कोभिडको नयाँ सङ्क्रमित फेला परेको थियो । चैत ४ गते कतार एयरवेजको जहाजमार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । त्यस्तै चैत १२ गते पुनः एक जनामा कोभिड पोजेटिभ देखिएको थियो । कोभिड पोजेटिभ देखिएका ती पुरुष व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन । यस्तै चैत २० गते बागलुङ्का ६५ वर्षीया एक ज्येष्ठ नागरिकमा कोभिड पुष्टि भएको थियो ।

पछिल्लोपटक चैत २२ गते एकै सुदूरपश्चिममा एकै दिन थप तीन जनामा कोभिड सङ्क्रमण भेटिएको थियो । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिडको सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्ममा तीन हजार ५२४ व्यक्तिको कोरोना सङ्क्रमणको नमूना परीक्षण गरिएको छ । हिजो मात्रै ६३० परीक्षण गरिएको थियो । आठ सय बढी परीक्षणको क्रममा छ । हाल नेपालभरि आठ हजार ६६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या १२५ रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.