भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबाद शीर्ष ४ मा रहँदै प्लेअफमा छनोट भएको छ । सोमबार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै हैदराबाद प्लेअफमा छनोट भएको हो ।
त्यस्तै हैदराबादले जित निकालेसँगै गुजरात टाइटन्सले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । चेन्नईका लागि डेवाल्ड ब्रेविसले २७ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४४ रन बनाए भने कात्र्तिक शर्माले ३२ रन जोडे ।
त्यस्तै शिभम दुवेले २६ रन जोड्दा सञ्जु स्यामसनले २७ र कप्तान रितुराज गायकवाडले १५ रन बनाए । हैदराबादका लागि कप्तान प्याट कमिंसले तीन विकेट लिए भने सकिब हुसैनले दुई विकेट लिँदा प्रफुल हिङ्गे र इशान मालिङ्गाको भागमा समान एक-एक विकेट रह्यो । चेन्नईले दिएको १ सय ८१ रनको लक्ष्य हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
हैदराबादको लागि इशान किशनले ४७ बलमा ७ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७० रनको अर्धशतकीय पारी खेले भने होरिक क्लासेनले २६ बलमा ६ चौका र २ छक्काको मद्दतमा ४७ रन बनाए । यस्तै अभिषेक शर्माले २६ रन जोड्दा नितिश कुमार रेड्डीले ११ र साहिल अरोरा १० रनमा अविजित रहे ।
चेन्नईका लागि मुकेश चौधरीले दुई विकेट लिए भने अन्शुल कम्बोज, नुर अहमद र अकिल हुसैनको भागमा समान एक-एक विकेट रह्यो । जितसँगै हैदराबाद १३ खेलमा १६ अंक जोड्दै प्लेअफमा स्थान बनाएको छ समान खेलमा १२ अंक जोडेको चेन्नई छैटौं स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत आज राति नेपाली समयनुसार पौने आठ बजे राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स भिड्दै छन् ।





प्रतिक्रिया राख्नुहोस्