क्रिकेटखेल

अभ्यास खेलमा नेपालद्वारा मलेसिया पराजित

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टि–२० अन्तरराष्ट्रिय खेलमा पराजित गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले मलेसियालाई दुई विकेटले पराजित गरेको हो ।

जितका लागि मलेसियाले दिएको ६८ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३२ रनको योगदान दिइन् ।

उनले ३९ बलमा दुई चौकाको सहयोगमा ३२ रन बनाएकी हुन् । त्यस्तै रुबी पोद्दारले १५ रन बनाउँदा कविता जोशीले छ जोडिन् । बलिङतर्फ मलेसियाकी नूर कलिसाले तीन विकेट लिइन् भने आइसा एलिसा र एल्सा हन्टरले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल बनाएको थियो ।

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । त्यस्तै, कप्तान मास एलिसाले आठ रन जोड्दा माहिरा इजाती र एर्दिना बेलले समान सात–सात रन बनाए ।

नेपालका लागि पूजा महतोले तीन विकेट लिइन् भने रिया शर्मा र मनिषा उपाध्यायले समान दुई–दुई विकेट लिए । कविता कुँवर र सीता रानामगरले समान एक–एक विकेट लिए ।

एसियन छनोट तथा एसिसी प्रिमियर कप खेल्न मलेसिया पुगेको नेपाली टोलीले मलेसियासँग दुई अभ्यास खेल खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको दोस्रो खेल यही जेठ ८ गते हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.