चिनीयाँ राष्ट्रपति सी उत्तर कोरियामा, किम जोङ उनसँग उच्चस्तरीय वार्ता हुने
चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि सोमबार उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नुभएको छ । पछिल्लो सात वर्षमा सीको उत्तर कोरिया गरिएको पहिलो यात्रा हो।
यो दुर्लभ भ्रमण चीनले उत्तर कोरियामाथि आफ्नो रणनीतिक प्रभाव पुनः मजबुत बनाउन र आर्थिक–राजनीतिक सहयोग विस्तार गर्न गरेको प्रयासको रूपमा हेरिएको छ।
यो दुई दिने भ्रमण भ्रमणका क्रममा उनी उत्तर कोरियाका नेता किम जोङ उनसँग भेट गर्नुहुनेछ । दुवै नेताबीच पछिल्लो पटक गत सेप्टेम्बरमा बेइजिङमा भेट भएको थियो, जहाँ उनीहरूले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित सैन्य परेड अवलोकन गर्नुभएको थियो ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीसँग उहाँकी पत्नी पेङ लियुआन, विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी काई ची पनि सहभागी हुनुहुन्छ ।
राजकीय भ्रमण भए पनि औपचारिक एजेन्डा सार्वजनिक गरिएको छैन । तर विशेषज्ञहरूका अनुसार यो भेटले चीन–उत्तर कोरिया सम्बन्ध मात्र होइन, सम्पूर्ण क्षेत्रीय शक्ति सन्तुलनमै महत्वपूर्ण प्रभाव पार्न सक्छ।
दक्षिण कोरियाको इवा विश्वविद्यालयका प्राध्यापक लेइफ–एरिक इस्लीले भने, “चीनका शीर्ष नेता कुनै औपचारिक कारण बिना उत्तर कोरिया भ्रमण गर्दैनन्। यस भ्रमणका वास्तविक रणनीतिक अर्थ छन्।”
अमेरिका–चीन प्रतिस्पर्धाबीच कूटनीतिक सन्देश
विश्लेषकहरूका अनुसार सीले यस भ्रमणमार्फत कोरियाली प्रायद्वीपमा चीनको प्रभाव अझै बलियो रहेको सन्देश दिन चाहनुभएको छ । साथै, अमेरिका र उसका साझेदारहरूसँग बढ्दो रणनीतिक प्रतिस्पर्धाबीच चीनले उत्तर–पूर्वी एसियामा आफ्नो नेतृत्व भूमिका देखाउन खोजिरहेको छ।
चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख आर्थिक सहयोगी र कूटनीतिक संरक्षक रहँदै आएको छ। संयुक्त राष्ट्रसंघीय प्रतिबन्धहरू पूर्ण रूपमा लागू गर्न चीनले आनाकानी गर्दै आएको आरोप पनि लाग्दै आएको छ।
तर पछिल्ला वर्षहरूमा उत्तर कोरियाले रूससँगको सैन्य सहकार्य बढाएपछि चीन–उत्तर कोरिया सम्बन्धमा केही दूरी आएको विश्लेषण पनि गरिएको छ।
उत्तर कोरियालाई चीनको समर्थन आवश्यक
विश्लेषकहरूका अनुसार किम जोङ उनलाई आर्थिक सहायता, खाद्यान्न, मल, र पर्यटन पुनः सुरु गर्ने जस्ता सहयोग चीनबाट आवश्यक छ। त्यसैगरी सीमित आर्थिक परियोजनाहरू पनि छलफलमा आउनसक्ने अनुमान गरिएको छ।
उत्तर कोरियाले हाल आणविक हतियार विस्तारलाई प्राथमिकता दिँदै आएको छ र अन्तर्राष्ट्रिय प्रतिबन्ध खुकुलो बनाउन अन्तर्राष्ट्रिय मान्यता खोजिरहेको छ।
आणविक नीतिबारे फरक धारणा
अमेरिका र चीनबीच उत्तर कोरियाको आणविक निःशस्त्रीकरणबारे औपचारिक सहमति भए पनि चीनले सार्वजनिक रूपमा यो विषयलाई लामो–अवधिको लक्ष्यका रूपमा मात्र प्रस्तुत गर्दै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पछिल्लो शिखर वार्तापछि पनि यस विषयमा दुई देशको व्याख्यामा भिन्नता देखिएको छ।
उत्तर कोरियाको अडान अझ कडा
उत्तर कोरियाले हाल आणविक कार्यक्रमलाई तीव्र विस्तार गरिरहेको छ। किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकाद्वारा गरिएको निःशस्त्रीकरणको आग्रहलाई “पुरानो र अवास्तविक सोच” भन्दै अस्वीकार गर्नुभएको छ ।
विशेषज्ञहरूका अनुसार किम भविष्यमा अमेरिका र अन्य देशसँग वार्ता पुनः सुरु गर्ने चाहना राखे पनि त्यो आफ्नो आणविक शक्ति कायम राख्ने सर्तमा मात्र हुने देखिन्छ।




प्रतिक्रिया राख्नुहोस्