सांसद आरेन राईको प्रधानमन्त्री बालेन शाहलाई आग्रह- ‘देश चलाउन सक्नुहुन्न भने मार्ग खुला गर्नुस्’
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह मुलुकको वर्तमान परिस्थितिप्रति पर्याप्त गम्भीर नदेखिएको आरोप लगाउँदै देशको नेतृत्व प्रभावकारी रूपमा गर्न नसक्ने अवस्था भए जिम्मेवारीबाट पछि हटेर अर्को नेतृत्वका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको छ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाले मुलुकको सामाजिक सद्भाव, शान्ति–सुरक्षा र सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्नुभयो।
यस्तो संवेदनशील अवस्थामा सरकार मौन वा बेखबर भएर बस्न नहुने भन्दै उहाँले प्रधानमन्त्रीसहित सम्बन्धित निकाय जनतामाझ पुगेर वास्तविक अवस्था बुझ्न, सूचना संकलन गर्न र शान्ति–सुरक्षा कायम गर्न सक्रिय हुनुपर्ने बताउनुभयो।
उहाँले सरकारले अभिभावकीय भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको टिप्पणी गर्दै संकटका बेला नागरिकलाई असहाय महसुस गराउने अवस्था आउन नहुने धारणा राख्नुभयो। देश र जनतालाई अभिभावकविहीन बनाउने शैली कुनै पनि हिसाबले स्वीकार्य नहुने उहाँको भनाइ थियो।
सांसद राईले भन्नुभयो, “यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ। त्यो संवैधानिक र लोकतान्त्रिक अभ्यासभित्रको विषय हो। अहिले प्रतिनिधिसभामा २८२ जना सांसद हुनुहुन्छ, कोही न कोहीले देशको नेतृत्व गर्न सक्नुहुन्छ।”
उहाँले सरकारलाई जिम्मेवारीबाट पन्छिनुभन्दा आफ्नो दायित्व पूरा गर्न आग्रह गर्दै अहिलेको चुनौतीपूर्ण परिस्थितिमा निर्णायक नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो। सरकार सक्रिय भएर जनताको विश्वास जित्ने काममा लाग्नुपर्ने, अन्यथा आफूबाट नेतृत्व सम्भव छैन भन्ने स्वीकार गरेर मार्ग खुला गर्नुपर्ने उहाँको भनाइ थियो।
“यो ढंगले अभिभावकविहीन बनेर देश चलाउन पाइँदैन। देश र जनतालाई यसरी टुहुरो बनाउन पाइँदैन। त्यसैले सरकार कि त सक्रिय रूपमा काम गर्नुपर्यो, कि त सक्दिनँ भनेर जिम्मेवारी छाड्नुपर्यो,” उहाँले भन्नुभयो।
सांसद राईले सुनसरीको घटनापछि सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आयोजित सर्वदलीय बैठकको स्वागतसमेत गर्नुभयो। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याउने पहल गर्नुभएको भन्दै उहाँले त्यसको प्रशंसा गर्नुभयो।
उहाँले धार्मिक तथा साम्प्रदायिक संवेदनशीलतासँग जोडिएका घटनालाई राजनीतिक लाभ–हानिको विषय नबनाई राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।
समाजमा फैलिन सक्ने द्वन्द्व, अविश्वास र उत्तेजनालाई नियन्त्रण गर्न सरकार अग्रसर हुनुपर्ने तथा सबै राजनीतिक दल, नागरिक समाज, स्थानीय तह र समुदायबीच समन्वय गरेर शान्ति स्थापना गर्नुपर्ने उहाँको धारणा थियो।
सांसद राईले अन्त्यमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षण सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै त्यसको नेतृत्व सरकारले नै गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले संकटको समयमा सरकार प्रभावकारी रूपमा उपस्थित भए मात्र नागरिकमा विश्वास कायम रहने र मुलुकमा स्थायित्व तथा शान्ति सुनिश्चित हुने बताउनुभयो।




प्रतिक्रिया राख्नुहोस्