क्रिकेटखेल

अमेरिकाले नेपाललाई दियो जितका लागि २३१ रनको लक्ष्य

ओमानमा आजदेखि सुरु भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खला अन्तर्गतको पहिलो खेलमा अमेरिकाले नेपाललाई जितका लागि २३१ रनको लक्ष्य दिएको छ ।

ओमानको मस्कटस्थित अल अमरेत मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३० रन बनाएको हो ।

अमेरिकाको लागि विकेटकिपर ब्याट्सम्यान मोनाक पटेलले शतक प्रहार गरे । तेस्रो नम्बरमा ब्याटिङ गरेका मोनाकले ११४ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा १०० रन बनाए । यस्तै निसर्ग पटेलले २१ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने, सुशन भारी र विक्रम सोबले २-२ विकेट लिए । यस्तै कुशल मल्लले १ विकेट लिए । अमेरिकाका दुई खेलाडी रनआउट भएका थिए ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ ।

सातै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चार अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा छ । ओमान १६ अङ्क जोडेर शीर्ष स्थानमा छ । बाह्र अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

स्कटल्यान्ड नौ अङ्कका साथ तेस्रो, नामिबिया आठ अङ्कसहित चौथो, युएई सात अङ्क जोड्दै पाँचौँ तथा पपुवा न्युगिनी अङ्कविहीन रहँदै पुछारमा छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.