एन आर एन न्युज

एनआरएनको चुनाव सार्नु आपत्तिजनक : कुल आचार्य

गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनको चुनाव सार्नु आपत्तिजनक रहेको बताएका छन् ।

टिम कुलद्वारा आयोजित खुला डबली भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले  परराष्ट्र मन्त्रालयको पत्र देखाएर  दशौं महाधिवेशन स्थगित गर्नु र  चुनाव सारिएको घोषणा गर्नु गलत अभ्यास भएको बताए  ।

आचार्यले भने- “अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) ले एजेन्डा मात्रै तयार गर्ने हो, महाधिवेशन स्थगित गर्ने वा चुनाव सार्ने उसलाई कुनै अधिकार छैन ।” विभिन्न बहानाबाजी गर्दै चुनाव सारेर  संस्थालाई दूभाग्यपूर्ण परिस्थितिमा धकेल्न खोजिएको बताए । ‘डेलिगेट्स चयन प्रक्रियालाई पारदर्शी गर्नुको साटो बरु चुनाव सार्ने कुरा भएको छ ।

संसारभरका गैर आवासीय नेपालीलाई चुनाव सार्ने कुरा मान्य हुने छैन’, आचार्यले भने, ‘छिटोभन्दा छिटो अधिवेशन साथसाथै चुनाव पनि गर्नुपर्छ । अहिले सम्पूर्ण एनआरएनहरुको भावना विपरित काम भैरहेको छ ।’

‘हामी संस्थालाई कसरी हुन्छ बचाउनुपर्छ भनेर, सधैं लोयल रहेर, संस्थाको मर्यादा बचाउन लागि परेका छौं । चुनाव सार्ने काम संस्थाको हितमा छैन’, आचार्यले भने। ‘हामीले संयम राखी राखेका छौं, धैर्य गरेका छौं । तर एउटा पक्षले निरन्तर सिस्टमलाई दुरुपयोग गर्न खोजिरहेको छ ।’  ‘संस्थालाई धरासायी बनाउने काम भएको छ । यो वास्तवमा मान्य हुने छैन । जे भैरहेको छ, राम्रो भएको छैन ।‘ उनले सबै एनआरएन अभियन्ता र मिडियालाई सत्य र न्यायको पक्षमा बुलन्द रुपमा बोल्न आह्वान पनि गरे।

आचार्यले छलफल गरौं, कुरा गरौं भनेर अल्झाउने काम नगर्न नेतृत्वलाई आग्रह पनि गरे । ‘हामी फेरि पनि यो संस्थाप्रति जिम्मेवार छौं, राम्रो बनाउने र बचाउनेतिर लागिरहेका छौं । नेतृत्वबाट भए गरेका गल्ती ढाकछोप गरेर अगाडि बढ्ने काम भयो भने मान्य हुने छैन,’ उनले भने ।

‘एनआरएन कब्जा गर्ने प्रवृत्तिविरुद्ध निवेदन’

त्यसै गरी एनसीसी अमेरिकाका पूर्व अध्यक्ष तथा २०२१-२३ का लागि महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले समस्या कहाँबाट आयो त्यो पहिचान गरेर त्यसलाई कसरी समाधान गर्ने भन्ने तिर जानुपर्ने बताए । पौडेलले एकपक्षीय रुपमा कुल आचार्य पक्षका कारण चुनाव पछाडि धकेलिएको भन्ने कुप्रचार भैरहेकोप्रति आपत्ति जनाए ।

संसारभरका एनआरएनहरु कसका कारण चुनाव सरेको हो भन्नेमा स्पष्ट छन्।  ‘एनआरएनलाई कब्जा गर्ने प्रवृत्तिविरुद्ध समयमै परराष्ट्र मन्त्रालयमा निवेदन दिइएको थियो । मन्त्रालयले विवाद समाधान नगरी चुनाव नगर्न भनेको थियो,’ उनले भने, ‘तर, समस्या समाधानको लागि नेतृत्वबाट कुनै पनि प्रयास गरिएको छैन ।

मन्त्रालयले बनाएको कमिटीले दिएको निर्देशन स्पष्ट नभएपनि नेतृत्वले दायित्व बहन गर्नुपर्छ ।’ महासचिवका उम्मेदवार डा. पौडेलले अहिलेको नेतृत्वले समस्या समाधान गर्न कुनै पनि  पहल गर्न नखोजेको बताए ।

‘अहिलेका महासचिवले यसको उत्तर किन दिनु भएन ?,’ उनले भने, ‘अध्यक्षले ६ हप्ताभित्र चुनाव गराउने भन्नुभएको थियो । समस्याको समाधानका लागि खाका तयार गर्नु पर्छ । जे जसरी हुन्छ, विवाद समाधान गर्न लाग्नुपर्छ ।’

सहमति, सहकार्य, सहअस्तित्वका लागि चुनाव छिटोभन्दा छिटो गर्न उनले  अध्यक्ष कुमार पन्तलाई आग्रहसमेत गरे । कुनै पनि संस्थामा नेतृत्व सफल हुन चुनाव र नेतृत्व हस्तान्तरण हुनु पर्ने उनले बताए । अध्यक्ष पन्तलाई  अहिले नेतृत्वको कुशलता देखाएर अधिवेशन छिटोभन्दा छिटो गराएर एनआरएनमा देखिएको कालो बादल हटाउन डा. पौडेलले आग्रह गरे ।

अन्तर क्रियामा बोल्दै संघका युरोप संयोजक तथा २०२१-२३ का लागि सचिव पदका उम्मेदवार, नारायण आचार्य, ले कार्यकाल बढाउने उद्देश्यले महाधिवेशन स्थगित गर्न खोजिएको बताए।  उनले छिटो भन्दा छिटो अधिवेशनमा जानुको विकल्प छैन भन्दै प्रतिनिधि चयन लगायतका विवाद सुल्झाउने जिम्मा संरक्षक परिषद्लाई दिन पनि माग गरे।

एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुबेदीले संस्थापन पक्षले धांधली गरेर संस्था कब्जा गर्न खोजेकाले अहिलेको स्थिति आएको बताए।  उनले अरु एनसीसीहरुसंग पनि सल्लाह गरेर आफुहरु अगाडी बढ्ने बताए।  एनसीसी अमेरिकाका पूर्व अध्यक्ष सुनील साहले संस्थालाई सबैभन्दा माथि राखेर अहिलेको विवाद समाधान गर्नु पर्ने र ३१ डिसेम्बर २०२१ अगावै चुनाव गर्नु पर्ने सुझाव दिए।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले दुवै पक्ष बीच गहन संवाद गर्न आग्रह गरे।  उनले पनि डिसेम्बर २०२१ भित्रै निर्वाचन गर्नु पर्ने बताए। आइसीसी सदस्य गुणराज (गुरांस) पौडेलले संस्थाभित्र सिन्डिकेट जोगाइ राख्न महाधिवेशन सार्न खोजिएको आरोप लगाए।

कार्यक्रममा  २०२१-२३ का लागि सचिव पदका उम्मेदवार खगेन्द्र न्यौपाने, एनसीसी क्यानाडाका उपाध्यक्ष शैलेन्द्र चापागाईं, डा इन्दिरा तिवारी लगायतका वक्ताले समयमा चुनाव गराउन नसक्नु वर्तमान नेतृत्वको कमजोरी भएको भन्दै जति सक्दो चांडो चुनाव र महाधिवेशन गर्न माग गरेका थिए।

एनआरएनएले औपचारिक रुपमा गर्यो अन्तर्राष्ट्रिय महाधिवेशन स्थगत

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.