जन सरोकार

दार्चुला घटना : भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार, पीडितलाई क्षतिपूर्ति दिने

सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ ।

दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो ।

महरा महाकाली किनारमा नेपाली क्षेत्रमा हिँडिरहेका बेला उक्त घटना घटेको थियो । “भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गरेको छ”, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले भन्नुभयो । उक्त घटनाबारे नेपाली पक्षले भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल गरेको थियो ।

महाकाली किनारमा भारतले आफ्नो क्षेत्रमा सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो । भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा बिस्फोटक पदार्थ प्रयोग गर्दा महराको मृत्यु भएको नेपाली पक्षको आरोप छ । उक्त विषयमा दुवै पक्षबीच छलफल हुँदा भारतीय पक्षले सो घटनामा आफू जिम्मेवार रहेको स्वीकार गरेको शाहीले बताउनुभयो ।

“भारतीय निर्माण कम्पनी पीडित परिवारलाई क्षतिपूर्ति दिन तयार छ”, उहाँले भन्नुभयो । भारतीय निर्माण कम्पनी मृतक महरा परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउन तथा परिवारका एक सदस्यलाई कम्पनीमा रोजगारी दिन सहमत भएको छ । निर्माण कम्पनीले रु १० लाख दिन तयार रहेको जनाए पनि मृतक महराको परिवारले अस्वीकार गरेको प्रहरी निरक्षिक शाहीले बताउनुभयो ।

पीडित बालकको परिवारले भारतीय पक्षसँग १० लाख भारतीय रुपैयाँ क्षतिपूर्तिस्वरुप माग गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । निर्माण कम्पनी गर्ग एण्ड गर्गसित थप छलफल गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाइने उहाँको भनाइ छ ।

छलफलका लागि पीडित परिवारका सदस्य, स्थानीय प्रहरी प्रशासनका प्रतिनिधिलगायतको टोलीले आज भारतको धारचुला गइ छलफल गरेको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना पटक पटक विस्फोटक पदार्थ प्रयोग गर्ने गरेकामा नेपाली पक्षले आपत्ति जनाएको थियो । अब आइन्दा यस्ता गतिविधि रोक्न नेपाली पक्षले भारतीय पक्षसित आग्रह गरेको छ । भारतीय पक्षबाट यसअघि पनि यस्ता घटना हुँदै आएका थिए । भारतले सीमा क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ घरमासमेत क्षति हुने गरेको स्थानीयवासीको गुनासोे छ ।

शुक्रबार भारतीय निर्माण कम्पनीले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा बालक महराको घटनास्थलमै ज्यान जानुका साथै उनकी दिदी १४ वर्षीया सरिना घाइते भएकी थिइन् ।

हाल उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । दुवैजना आमाबुवासँगै जङ्गलबाट घर फर्किँदै थिए । बालक महराको शव शुक्रबार राति परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।

मृतक बालक दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए । सरिनाको खुट्टामा चोट लागेको बुवा हिक्मतले बताउनुभयो । भारतीय पक्षले जानकारी नदिइकन विस्फोट गराएका कारण छोराको ज्यान गएको उहाँले बताउनुभयो ।

“म श्रीमती बेरसपति, छोरा पङ्कज, सरिना, पवन र पवेशसँगै लेकबाट घर फर्किदै थिए”, महराले भन्नुभयो, “एक्कासी उछट्टीएर आएको ढुङ्गा लागेर छोरोको ज्यान गयो । विस्फोटक पदार्थ प्रयोग हुँदैछ भन्ने जानकारी पाएको भए छोरा गुमाउनु पर्दैनथ्यो, उनीहरु (भारतीय पक्ष)ले सिट्टी समेत बजाएनन् ।”

महरा परिवार दसैँ तिहारको बिदामा गाईवस्तु तथा भेडाबाख्रा चराउन लेक उक्लिएको थियो । यही कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि उनीहरु गाउँ फर्किएका थिए ।

भारतीय सडक निर्माण कम्पनी गर्ग एण्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ । त्यसका लागि बेला बेलामा उनीहरुले विस्फोटक पदार्थ प्रयोग गर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था आएमा एकअर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ । “यस्तो अवस्थामा दुवै देशका स्थानीय प्रशासनबीच समन्वय हुनुपर्छ”, प्रजिअ उपाध्यायले भन्नुभयो । तर शुक्रबार भारतीय पक्षले विस्फोटक पदार्थ प्रयोगबारे कुनै जानकारी नदिएको उहाँको भनाइ छ ।

“घटनाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छौँ”, प्रजिअ उपाध्यायले भन्नुभयो । घटनाबारे स्थानीयस्तरमा दुवै देशका जिल्ला अधिकारीबीच टेलिफोन संवादसमेत भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.