विश्व समाचार

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : राष्ट्रपति म्याक्रोन

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको छ । मङ्गलबार म्याराथन टेलिभिजन प्रस्तुतिमा उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा उहाँले आफ्नो जनादेशको बाँकी दुई वर्षका लागि आफ्ना लक्ष्यहरू प्रस्तुत गर्दै महत्त्वपूर्ण मुद्दाहरूमा जनमत सङ्ग्रहको प्रतिबद्धता जाहेर गर्नुभयो ।

सन् २०१७ मा आमूल परिवर्तनको वाचा गर्दै सत्तामा आउनुभएका म्याक्रोनले संविधानअन्तर्गत अनुमति दिइएको अधिकतम दुई कार्यकाल पूरा गरेपछि सन् २०२७ मा पदबाट राजीनामा दिनुहुनेछ ।

विशेष गरी संसदीय चुनाव गराउने आफ्नो निर्णयले उल्टो प्रभाव पारेपछि, अति–दक्षिणपन्थी दललाई संसद्मा सबैभन्दा ठूलो दल बनाएर र आफ्नै दललाई अल्पसङ्ख्यक उपस्थितिमा सीमित गरेपछि पछिल्लो वर्षमा कहिलेकाहीँ म्याक्रोन ल्याम डक (अर्थात शक्तिविहीन) जस्तै देखिनुभएको छ ।

तर हालैका महिनाहरूमा रुसले युक्रेनमा गरेको आक्रमणबाट सुरु भएको तीन वर्षे युद्धको अन्त्य गर्न खोज्दा अन्तर्राष्ट्रिय मोर्चामा उहाँको उपस्थितिबाट उत्साहित नयाँ ऊर्जावान म्याक्रोन देखिनुभएको छ ।

“हामीले युक्रेनलाई आफ्नो रक्षा गर्न मद्दत गर्नुपर्छ तर हामी तेस्रो विश्वयुद्ध सुरु गर्न चाहँदैनौँ”, म्याक्रोनले तीन घण्टाभन्दा बढी समयसम्म चलेको अन्तर्वार्तामा भन्नुभयो, “युद्ध बन्द हुनुपर्छ र युक्रेन वार्तामा जान सक्ने सकेसम्म उत्तम अवस्थामा हुनुपर्छ ।”

तर म्याक्रोनले संयुक्त राज्य अमेरिकाले गरेजस्तै फ्रान्स अन्य युरोपेली देशहरूसँग उनीहरूको क्षेत्रमा आणविक हतियारले सशस्त्र फ्रान्सेली लडाकु विमानहरू तैनाथ गर्न छलफल सुरु गर्न तयार रहेको बताउनुभयो ।

“अमेरिकीहरूसँग बेल्जियम, जर्मनी, इटाली, टर्कीमा विमानहरूमा बम छन्”, उहाँले भन्नुभयो, “हामी यो छलफल सुरु गर्न तयार छौँ । म आउने हप्ता र महिनाहरूमा यसको ढाँचा बहुत विशिष्ट तरिकाले परिभाषित गर्नेछु ।”

यसबारे सोचेको छैन

म्याक्रोनको अगाडि आफ्नो दृष्टिकोण राख्नेहरूमा कट्टरपन्थी सिजिटी युनियनका प्रमुख सोफी बिनेटदेखि लिएर मांसपेशी र व्यापक रूपमा अनुसरण गरिएको फिटनेस इन्फ्लुएन्सर टिबो इन्शेपसम्म हुनुहुन्थ्यो ।

फ्रान्समा करिब छ सय रोजगारीको बारेमा चिन्ताका बीच म्याक्रोनले बिनेटलाई स्टिल निर्माता आर्सेलरमित्तलका फ्रान्सेली सञ्चालनहरू राष्ट्रियकरण नगरिने तर देशका दुई संयन्त्र बचाउने प्रतिज्ञा गर्नुभयो ।

एउटा प्रमुख घोषणामा उहाँले फ्रान्सेली सामाजिक र आर्थिक ‘सुधार’ बारे मतदाताहरूले निर्णय गर्न एकै दिनमा धेरै जनमतसङ्ग्रह गर्ने पक्षमा रहेको बताउनुभयो ।

“म चाहन्छु कि हामीले परामर्शको एक शृङ्खला आयोजना गर्नुपर्दछ”, म्याक्रोनले भन्नुभयो, “मतदान आउँदो महिनाहरूमा एक दिनमा हुनेछ र ‘प्रमुख’ आर्थिक र सामाजिक सुधारहरूलाई सम्बोधन गर्नेछ ।”

यद्यपि उहाँ विवरणमा जान नचाहे पनि प्रधानमन्त्री फ्रान्कोइस बायरोको सुझावका लागि खुला हुनुहुन्थ्यो । बायरोले फ्रान्सको ऋण घटाउने योजनामा जनमत सङ्ग्रह गर्ने प्रस्ताव राख्नुभएको छ ।

जनमत सङ्ग्रहले १५ वर्षभन्दा कम उमेरका लागि सामाजिक मिडियामा पहुँच र सहायता प्राप्त मृत्युजस्ता सामाजिक सुधारहरूलाई पनि सम्बोधन गर्न सक्छ ।

तथापि, म्याक्रोनले दक्षिणपन्थी र अति–दक्षिणपन्थीको बारम्बार अनुरोधका बावजुद आप्रवासन मुद्दाहरूलाई जनमत सङ्ग्रहमा राख्ने विचारलाई अस्वीकार गर्नुभयो ।

संवेदनशील सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपतिले खेलकुद प्रतियोगिताहरूमा इस्लामिक पर्दा जस्ता धार्मिक प्रतीकहरू लगाउने विरुद्धमा बोल्नुभयो तर उहाँले गैर–प्रतिस्पर्धात्मक खेलको अभ्यासका लागि यो खेलकुद सङ्घहरूले निर्णय गर्ने विषय भएको बताउनुभयो ।

सत्चालीस वर्षीय म्याक्रोनले लगातार दुई कार्यकाल सेवा गरिसकेपछि सन् २०२७ मा पद छोड्नुपर्ने भए पनि उहाँ सन् २०३२ मा सिद्धान्तमा फर्कन सक्नुहुन्छ । यस्तो कुनै पनि फ्रान्सेली नेताले पहिले कहिल्यै गरेका छैनन् ।

तर टिभी म्याराथनको अन्त्यमा उहाँले सन् २०२७ पछि आफ्नो भविष्यको बारेमा नसोचेको र आफ्नो दैनिक काममा फ्रान्सको बारेमा मात्र सोचिरहेको बताउनुभयो ।

“जब म (वर्तमान कार्यकाल) पूरा गर्छु, म अब के हुन्छ भनेर सोच्नेछु । त्यसपछि मात्र म तपाईंलाई जवाफ दिन सक्छु । तर आज, मैले यसबारे सोचेको छैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.