हाम्रो कामना छ- असत्य र आसुरी प्रवृत्तिको अन्त्य होस्
नेपालीहरूको राष्ट्रिय पर्व बडादशैं घरघरमा भित्रिसकेको छ । बडादशैं जस्तो विशेष चाडपर्वको पूर्वसन्ध्यामा नेपाली जनताले चरमपीडाको अनपेक्षित नियतिको सामना गर्नुपर्यो । देशको अवस्था सुधारको माग गर्दै नव पुस्ता ‘जेन–जी’ नामांकित नवयुवाको समूहले उठाएको आवाजमाथि जसरी सरकारी दमन भयो त्यसले देश अहिले पनि शोकमा छ ।
गत भदौ २३ गते सरकारी दमनले १९ जना नवपुस्ताको ज्यान गएपछि देशको राजनीतिमा आमूल परिवर्तन भएको छ । यो परिवर्तनले देशको शासनसत्ता मात्र होइन व्याप्त चरम भ्रष्टाचार, बेथिति, विकृति, विसगति हटाएर समुन्नत नेपाल निर्माणको आधार खडा गर्ने आम अपेक्षा छ । देशमा युवा विद्रोहलगत्तै सुरु भएको बडा दशैंका दुर्गा भवानीले सबैमा राष्ट्रका लागि योगदान गर्ने प्रेरणा प्रदान गरुन् ।
अभूतपूर्व राजनीतिक परिवर्तनको एकदशक लामो यात्रामा देशले अपेक्षाकृत गति लिन नसकेको कुरा घामजत्तिकै छर्लङ्ग छ । यो वास्तविकता सत्ता संचालकहरुले कहिल्यै स्वीकार्न चाहेनन् । उनीहरुको नालायकीपनको बिरुद्ध सुशासनको प्रत्याभूतिका लागि सडक बिद्रोहको अपूर्व लहर उठाएका युवाहरुको भावना र चाहना सत्ताबिरुद्धको अपराध सम्झेर दमनन गरे ।
देश निर्माणको मेरुदण्ड मानिने, अत्यन्त सचेत र विश्व ब्रह्माण्डको जानकारी राख्ने नवपुस्ताको कदर गर्नुको साटो उनीहरुलाई दमन गरेर निस्तेज गर्ने जुन शैली तत्कालीन सरकारले लियो त्यसको प्रतिउत्तरमा भदौ २४ गते अकल्पनीय क्षति मुलुकले भोग्यो । राज्यसत्तामा बस्नेहरुको निकम्मापन यसरी प्रकट भयो कि उनीहरुमा आम जनताको भावना बुझ्ने क्षमतै नरहेको सुस्पष्ट भयो ।
बडा दशैंको संघारमा नेपाली समाजले मानवीय एवं राष्ट्रिय चेतनाको अभिवृद्धि र विवेकसम्मत सिर्जनात्मक कदमको अपेक्षा गरिरहेको बेला उत्तेजना, आवेग र विध्वंशको लहर उठाएर आसुरी प्रवृत्तिको नांगो रुप प्रदर्शित हुनपुग्यो । सत्ता सञ्चालकहरूको बहुलठ्ठीपना, शक्तिको उन्माद र विग्रदो परिस्थितिलाई आँकलन गर्ने क्षमताको अभावकै कारण एकातिर मानवसागरलाई आक्रोशित र उत्तेजित बनाउने गरी बितण्डापूर्ण शैलीमा बल प्रयोग हुँदा दर्जनौं आन्दोलनकारी युवाहरूको जीवन लिला समाप्त भयो ।
अर्कातिर उत्तेजना र आवेगको डँढेलो सल्किएर देशव्यापी रुपमा आगजनी, तोडफोड, लुटपाट र नरबलीको विध्वंशक र विष्मयकारी गतिविधिको प्रायोजन हुनपुगेको देखियो । जनधनको अपूरणीय क्षतिको यो असहनीय पीडाले अहिले देश रोइरहेको छ । देशमा यस्तो विकराल र भयावह स्थिति कसरी सिर्जित भयो भनी गहिराइमा गएर चिन्तन गर्नुपर्ने भएको छ ।
राष्ट्रिय चेतना बढ्यो, देशले अग्रगामी छलाङ् मार्यो, हामीले अभूतपूर्व उपलब्धि हाँसिल गर्यौं भनी राजनीतिक फलाको चर्किइरहेको बेलामा देशव्यापी रुपमा अविवेकी, अमानवीय र विध्वंशक शैलीमा आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक घटनाको प्रायोजन कसरी हुनपुग्यो यो गहन अनुसन्धानको विषय छ । यति ठूलो विनाशलिला मच्चिँदा पनि त्यसलाई रोक्ने–नियन्त्रण गर्ने तत्परता र क्षमता कहीं कतैबाट देखिन सकेन भन्ने पनि उत्तिकै गहन प्रश्न उपस्थित भएको छ ।
देशव्यापी रुपमा संगठनात्मक सञ्जाल भएका सत्ताभित्र र सत्ता बाहिर रहेका दलका लाखौंको संख्यामा रहेका भनिने कार्यकर्ता र जनप्रतिनिधिहरूसमेत अपार राष्ट्रिय क्षतिको उन्मादी र आवेगी गतिविधि रोक्न किन अग्रसर हुन सकेनन् ? यो पनि उत्तिकै चासोको विषय छ ।
देशको गौरवको रुपमा रहेको केन्द्रिय सचिवालय सिंहदरबार, सर्वोच्च अदालतदेखि लिएर अरू न्यायिक निकायहरू, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, संसद भवन एवं राजधानीदेखि लिएर सीमावर्ती क्षेत्रसम्मका प्रहरी पोष्टहरू ककस्को निशानामा किन परे र यथा समयमै सावधान रहेर तिनको सुरक्षा गर्ने क्षमता कसरी गुम्यो भन्ने गहन प्रश्नहरूले अहिले उत्तर खोजिरहेका छन् ।
देशभित्र प्रश्नहरुको चाङ छ । सत्तासंग जनता असन्तुष्ट छन्, सत्ता संवाहक भनिएका राजनीति दल र तिनका नेता–कार्यकर्ताको गतिविधि देशहित विपरीत रहँदैे आम जनताको भनाइलाई नजरअन्दाज गरी निस्तेज पार्नखोज्ने आसुरी प्रवृत्तिले देशमा कहिल्यै सुशासन दिएन । अब यस्तो अवस्थाको अन्त्य हुनुपर्छ ।
बडादशैं पारस्परिक सद्भाव, सहभाव र सामूहिकताको राष्ट्रिय संस्कृति–प्रवर्धनका लागि सदा प्रेरित गर्ने महान सांस्कृतिक एवं धार्मिक महत्वको पर्व हो । असत्य र आसुरी प्रवृत्तिमाथि सत्य दैवीशक्तिको विजयको प्रतीक बडादशैंको यो गरिमामय अवसरमा हामी देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीजनमा हार्दिक शुभकामना अर्पण गर्दै विध्वंश, बिघटन, अन्तरकलह र विकारजन्य मनोवृत्तिविरुद्ध राष्ट्रिय एकता, समृद्धि र सामाजिक सद्भावको सूत्र मजबुत बनाउने प्रेरणा मिलोस् ।
यसपालीको दशैंले नेपालमा विद्यमान आसुरी प्रवृत्तिको अन्त्य गरोस, मातृभूमिको कल्याणका लागि मातृशक्तिको सदिच्छा प्राप्त होस् । हरेक नेपालीको मनमा देशका लागि केही गर्नुपर्छ भन्ने भावना अरु बढोस् ।
सम्पूर्ण नेपालीहरुमा राष्ट्रिय एकताको भवना जागृत हुँदै आवेग, उत्तेजना, प्रतिशोधपूर्ण व्यवहार र गतिविधि नगरी राष्ट्रको चौतर्फी हितका लागि हातेमालो गर्ने शक्ति दुर्गा भवानीले प्रदान गरुन् । सबैमा सद्बुद्धि फिरोस् ! बडा दशैंको पावन अवसरमा यही कामना गर्दछौं ।




प्रतिक्रिया राख्नुहोस्