ओपनर अभिषेक शर्माको शतकमा भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा हैदराबादले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।
हैदराबादको घरेलु मैदान राजिव गान्धि क्रिकेट रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ४२ रन बनाएको थियो । हैदराबादका लागि ओपनर अभिषेक शर्माले ६८ बलमा १० चौका र १० छक्का प्रहार गर्दै अविजित रहँदै १ सय ३५ रनको शतकीय पारी खेले भने हेनरिक क्लासेन ३७ रनमा अविजित रहे ।
यस्तै ट्रभिस हेडले ३७ रन जोड्दा कप्तान इशान किशनले २५ रन बनाए । दिल्लीका लागि कप्तान अक्षर पटेलले एक विकेट लिए । हैदराबादले दिएको २ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९५ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि नितिश राणले ३० बलमा ७ चौका र ३ छक्का प्रहार ५७ रनको अर्धशतकीय पारी खेले भने समिर सिज्भीले ४१ रन बनाए । यस्तै केएल राहुलले ३७ रन जोड्दा ट्रिस्टन स्टब्स २७ र आशुतोष शर्माले १४ रन बनाए ।हैदराबादका लागि इशान मालिङ्गाले चार विकेट लिए भने हर्ष दुवेले तीन विकेट लिँदा दिल्शान मधुशंका र शाकिब हुसेनको भागमा समान एक-एक विकेट रह्यो ।
जितसंगै हैदराबाद सात खेलमा आठ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने छ खेलमा छन् अंक जोडेको दिल्ली पाँचौ स्थानमा रहेको छ । प्रतियोगिता अनतर्गत आज नेपाली समय अनुसार राति पौने आठ बजे लखनउ सुपर जाइन्ट्स र राजस्थान रोयल्स भिड्दै छन् ।





प्रतिक्रिया राख्नुहोस्