जापान

सांघाईस्थित जापानी कम्पनीको रेस्टुरेन्टमा चक्कु हानाहान

चीनको सांघाईस्थित एक जापानी रेष्टुरेन्टमा एक जापानी नागरिकले चक्कु आक्रमण गर्दा दुई जापानी र एक चिनीयाँ नागरिकसहित तीन जना घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

चिनियाँ आर्थिक केन्द्र सांघाईको वित्तीय जिल्लामा रहेको जापानी कम्पनीहरूले विकास गरेको ‘सांघाई वर्ल्ड फाइनान्सियल सेन्टर’ भवनभित्र रहेको जापानी रेष्टुरेन्टमा मंगलबार दिउँसो एक व्यक्तिले फलफूल काट्ने चक्कु लिएर आक्रमण गरेका हुन् ।

जापानको विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार घाइते हुनेमा दुई जापानी नागरिक र एक चिनियाँ महिला रहेका छन् । उक्त भवन र आसपासका क्षेत्रमा धेरै जापानी कम्पनीहरूको कार्यालय रहेका छन् ।

जापान टाइम्सका अनुसार घटनापछि चीनस्थित जापानी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गर्दै सूचना जारी गरेको छ ।

दूतावासले चिनियाँ सरकारसँग घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कडा कारबाही गर्न तथा चीनमा रहेका जापानी नागरिकको सुरक्षाको प्रत्याभूति गर्न माग गरेको जनाएको छ ।

प्रहरीले घटनास्थलबाट ५९ वर्षीय आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ । स्थानीय प्रहरी स्रोतका अनुसार ती व्यक्तिमा मानसिक रोगको इतिहास रहेको र उनले असम्बन्धित तथा अस्पष्ट अभिव्यक्ति दिएको बताइएको छ ।

नजिकैको एक पसलका कर्मचारीका अनुसार आक्रमणकारी रेष्टुरेन्टभित्र प्रवेश गरी तीन जनामाथि आक्रमण गरेपछि भुइँमा बसेका थिए । घटनापछि रेष्टुरेन्टमा चिच्याहट सुनिएको र धेरै ग्राहक भागेका थिए ।

यसअघि सन् २०२४ को जुनमा सुझोउमा विद्यालय बस पर्खिरहेका बेला एक जापानी आमा र बच्चामाथि चक्कु आक्रमण भएको थियो । उक्त घटनामा एक चिनियाँ महिलाको मृत्यु भएको थियो ।

त्यसै वर्ष सेप्टेम्बरमा शेन्जेनमा विद्यालय जाँदै गरेका एक जापानी बालकको चक्कु प्रहारबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.