मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धरित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो । इन्डोनेसियाको लागि कप्तान नन्दा साकारिनीले ६२ बलमा ३ चौकाको सहयोगमा अविजित रहदै ५६ रनको अर्धशतकीय पारी खेलिन् भने नि लुह देवीले २३ रन बनाइन् । त्यस्तै नी मेड पुत्री सुवान्डेवीले १३ रन जोड्दा नि कादेक फित्रिया रादा रानी ३ रनमा अविजित रहिन्।
नेपालका लागि मनिषा उपाध्यायले दुई विकेट लिइन् भने रिया शर्माको भागमा एक विकेट रह्यो । इन्डोनेसियाले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि कप्तान इन्दु बर्माले ४३ बलमा ४ चौका प्रहार गर्दै अविजित रहँदै ४२ रन बनाइन् भने सोनी पाख्रिनले २९ रन जोडिन् । यस्तै कविता कुँवरले १४ रन जोड्दा सित राना मगर १३ रनमा अविजित रहिन् ।
इन्डोनेसियाको लागि नी मेड पुत्री सुवान्डेवी र नि एरियानीले समान दुई-दुई विकेट लिए भने दारा परमिथा र साङ मेप्रियानीको भागमा समान एक-एक विकेट रह्यो । नेपालले पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता राष्ट्रसंग खेल्नेछ ।
विभिन्न छ राष्ट्र सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा चीन र इन्डोनेसिया छन् ।
त्यसैगरी, समूह ए मा भने आयोजक मलेसिया, हङ्कङ र थाइल्यान्ड छन् प्रतियोगिताका शीर्ष तीन स्थान हासिल गर्ने टोलीले यसैवर्ष जापानमा हुने २० एसियाली खेलकुद प्रतियोगितामा भाग लिने पाउने छन् ।




प्रतिक्रिया राख्नुहोस्