राजस्थान रोयल्स सनराइजर्स हैदराबादलाई हराउँदै भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति भएको इलिमिनेटर खेलमा हैदराबादलाई ४७ रनले पराजित गर्दै राजस्थानले दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।
भारतको न्यु चण्डीगढको मुल्नापुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ४३ रन बनाएको थियो । राजस्थानका लागि ओपनर बैभव सुर्यवंशीले २९ बलमा ५ चौका र १२ छक्काको सहयोगमा ९७ रनको अर्धशतकीय पारी खेले भने यशस्वी जैसवालले २९ रन बनाए । यी दुईले पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी गरेका थिए ।
यस्तै एकै संस्करणको आइपिएलमा सर्वाधिक छक्का प्रहार गर्ने क्रिस गेलको कीर्तिमान पनि सुर्यवंशीले तोडेका छन् । जारी संस्करणमा उनले ६५ छक्का प्रहार गरिसकेका छन् । त्यस्तै धुब्र जुरेलले २१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ खेले भने कप्तान रियान परागले २६ रन जोड्दा डेनोभन फरेराले १२ र रविन्द्र जडेजा १२ रनमा अविजित रहे ।
हैदराबादका लागि प्रफुल हिङ्गेले तीन विकेटले लिए भने इशान मालिङ्गा, शिवागं कुमार र नितिश कुमार रेड्डीको भागमा समान एक-एक विकेट रह्यो ।राजस्थानले दिएको २४४ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १ सय ९६ रनमा समेटियो ।
हैदराबादका लागि नितिश कुमार रेड्डीलेसर्वाधिक ३८ रन बनाए भने साहिल अरोराले ३५ रन जोडे । यस्तै शिवागं कुमार २७ रन जोड्दा इशान किशनले ३३, हेनरिक क्लासेनले १८ र ट्रभिस हेडले १७ रन बनाए । राजस्थानका लागि जोफ्रा आर्चरले तीन विकेट लिए भने नान्द्रे बर्गर, सुशान्त मिश्र र रविन्द्र जडेजाले समान दुई-दुई विकेट लिँदा यश राज पुञ्जाको भागमा एक विकेट रह्यो ।
अब फाइनल प्रवेशका लागि राजस्थानले दोस्रो क्वालिफायरमा शुक्रबार गुजरात टाइटन्ससँग खेल्नेछ । मंगलबार भएको पहिलो क्वालिफायरमा गुजरात रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो । यता बेंगलुरु भने फाइनलमा प्रवेश गरिसकेको छ ।




प्रतिक्रिया राख्नुहोस्