कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने जापान र दक्षिण कोरियाको पुनः प्रतिबद्धता
जापानी रक्षामन्त्री सिनजिरो कोइजुमीले कोरियाली प्रायद्वीपको पूर्ण आणविक निरस्त्रीकरण र क्षेत्रीय शान्तिका लागि जापान प्रतिबद्ध रहेको बताउनुभएको छ।
उत्तर कोरियाले आफ्नो आणविक हतियार भण्डार विस्तार गर्ने घोषणा दोहोर्याइरहेका बेला जापान र दक्षिण कोरियाका रक्षामन्त्रीहरूले आइतबार उक्त प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको हो।
दुई दिने भ्रमणका क्रममा सियोल पुग्नुभएका कोइजुमी र दक्षिण कोरियाली रक्षामन्त्री आजल ग्यू ब्याकबीच भएको भेटवार्तामा दुवैले रक्षा सहकार्यलाई अझ गहिरो बनाउने उपायहरूबारे छलफल गर्नुभएको थियो।
बैठकपछि दक्षिण कोरियाको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दुवै पक्षले कोरियाली प्रायद्वीपको पूर्ण आणविक निरस्त्रीकरण र स्थायी शान्ति स्थापनाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ।
साथै, दक्षिण कोरिया–जापान द्विपक्षीय सहकार्य तथा दक्षिण कोरिया–जापान–अमेरिका त्रिपक्षीय सहकार्यलाई निरन्तरता दिने सहमति पनि गर्नुभएको छ।
दक्षिण कोरियाली रक्षामन्त्री आजल ग्यू ब्याकले उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको रक्षा क्षमता सुदृढ बनाउने, नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने तथा मिसाइल परीक्षणलाई तीव्रता दिने प्रतिज्ञा गरेपछि यो बैठक विशेष महत्वका साथ सम्पन्न भएको बताउनुभयो।
सियोल र टोकियो दुवै वाशिङ्टनका प्रमुख सुरक्षा साझेदार भए पनि २०औँ शताब्दीको प्रारम्भमा जापानी उपनिवेशकालीन शासनबाट उत्पन्न ऐतिहासिक तनावका कारण दुई देशका सेनाबीचको सहकार्य लामो समयसम्म सीमित रहँदै आएको छ।
यो बैठक दुई देशबीच नौ वर्षपछि पहिलोपटक संयुक्त समुद्री खोज तथा उद्धार अभ्यास सम्पन्न भएको केही सातापछि भएको हो। यसलाई रक्षा सहकार्यलाई थप नजिक ल्याउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यद्यपि दुवै रक्षामन्त्रीहरूले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने प्रतिबद्धता दोहोर्याउनुभएको भए पनि प्योङयाङले हालै आफ्नो आणविक भण्डार कायम राख्ने र थप विस्तार गर्ने अडान पुनः सार्वजनिक गरेको छ।
यसै महिनाको सुरुतिर उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरिया र अमेरिकाको सैन्य आधुनिकीकरण प्रयासले क्षेत्रलाई ‘आणविक युद्धको किनारमा’ पुर्याएको आरोप लगाउँदै आफ्नो देशको रक्षा क्षमता अझ सुदृढ बनाउने घोषणा गर्नुभएको थियो। उहाँले नौसेनालाई आणविक हतियारले सुसज्जित बनाउने र ठूला युद्धपोत निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।
सन् २०१९ मा किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हनोईमा भएको शिखर सम्मेलन आणविक निरस्त्रीकरण र प्रतिबन्ध हटाउने विषयमा सहमतिमा पुग्न नसकेपछि उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति भएको घोषणा गर्दै आएको छ।
कोरियाली युद्ध शान्ति सन्धिबाट नभई युद्धविराम सम्झौतामार्फत अन्त्य भएकाले उत्तर र दक्षिण कोरिया अझै पनि प्राविधिक रूपमा युद्धकै अवस्थामा रहेका छन्।




प्रतिक्रिया राख्नुहोस्