जन सरोकार

जरिवाना नतिर्ने २ लाख ६१ हजारभन्दा बढी चालकले लाइसेन्स, सवारी नवीकरण गर्न नपाउने

ट्राफिक नियम उल्लङ्घन गरी तोकिएको जरिवानावापतको रकम राज्यकोषमा दाखिला नगर्ने दुई लाख ६१ हजारभन्दा बढी सवारी चालकमाथि कडा प्रशासनिक कारबाही सुरु गरिएको छ।

अब जरिवाना नतिर्ने चालकले नयाँ सवारीसाधन दर्ता, सवारी नामसारी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणलगायत यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने विभिन्न सेवा प्राप्त गर्न नपाउने भएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो समयदेखि जरिवाना नतिरेका चालकहरूको विवरण यातायात व्यवस्था कार्यालयमा पठाइसकिएको छ। सोही विवरणका आधारमा सम्बन्धित सेवाहरू रोक्का गर्ने प्रक्रिया कार्यान्वयनमा ल्याइएको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जरिवानावापतको सम्पूर्ण रकम राज्यकोषमा जम्मा नगरेसम्म यातायात व्यवस्था कार्यालयबाट उपलब्ध हुने कुनै पनि सम्बन्धित सेवा प्राप्त गर्न नसकिने जानकारी दिनुभयो। उहाँका अनुसार जरिवाना पूर्णरूपमा भुक्तानी गरेपछि मात्रै रोक्का गरिएका सेवा पुनः सञ्चालन हुने व्यवस्था गरिएको छ।

यातायात व्यवस्था कार्यालयले अब नयाँ सेवा उपलब्ध गराउनुअघि सम्बन्धित चालकले ट्राफिक जरिवानावापतको रकम राज्यकोषमा बुझाएको पुष्टि अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ।

जरिवाना तिर्न बाँकी रहेका चालकलाई मोबाइल सन्देश ९एसएमएस० मार्फत जानकारी गराउने कार्यसमेत सुरु गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार यो अभियानको मुख्य उद्देश्य राज्यकोषमा जरिवानावापतको राजस्व सङ्कलनलाई प्रभावकारी बनाउनुका साथै ट्राफिक नियमको पालनालाई प्रोत्साहन गर्नु, सडक अनुशासन सुदृढ गर्नु र नियम उल्लङ्घन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु हो।

प्रवक्ता सुवेदीले ट्राफिक नियम उल्लङ्घन गरेर जरिवाना नतिर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न यो व्यवस्था प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सबै सवारीचालकलाई समयमै जरिवाना भुक्तानी गरी ट्राफिक नियमको पूर्णपालना गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.