सन्दर्भ गुरुपूर्णिमा : ‘गुरू- शाश्वत सम्पत्ति’
हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन वैदिक सनातन समाजले गुरु पूर्णिमा मनाउने गर्दछन् । यो पर्व ज्ञान, सीप, शिक्षा र नैतिक आचरण, सदाचारका साथ जीवन निर्वाह गर्न आध्यात्मिक मार्गदर्शन प्रदान गर्ने गुरुहरूप्रति श्रद्धा व्यक्त गर्ने उत्सव हो ।
यस वर्षको गुरुपूर्णिमा श्रावण १३ गते बुधबार परेको छ । यो पर्वको सुरुवात महर्षि वेदव्यासको जन्मजयन्ती (व्यास पूर्णिमा)सँग जोडिन्छ। वेदव्यासले चार वेदको संहिताकरण, महाभारत, १८ पुराण तथा ब्रह्मसूत्रको रचना तथा सम्पादन गरेकाले उहाँलाई “आदिगुरु”का रूपमा सम्मान गरिन्छ। त्यसैले यस दिन गुरुको पूजा र सम्मान गर्ने परम्परा विकसित भएको मानिन्छ।
बौद्ध परम्परामा पनि यही दिन गौतम बुद्धले सारनाथमा आफ्ना पाँच शिष्यलाई पहिलो धर्मोपदेश दिएको विश्वास गरिन्छ। यस कारण गुरु पूर्णिमा बौद्ध धर्मावलम्बीका लागि पनि विशेष महत्वको दिन हो।
यसै गरी यही दिन नेवार समुदायले दिल्लाथ्व पूर्णिमा अर्थात् दिल्ला पुन्हिका रुपमा आफ्ना गुरुलाई सम्मान गरी मनाउने गर्दछन् । यस अवसरमा परिवार तथा समुदायका सदस्यहरू भेला भएर पूजाआजा गर्ने, परम्परागत परिकार खाने र सामाजिक तथा पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउने चलन छ।
गुरु पूर्णिमा केवल धार्मिक पर्वमा मात्र सीमित छैन। आज यसको सान्दर्भिकता अरु बढेको छ । ज्ञान, नैतिकता, अनुशासन र जीवनमूल्य सिकाउने गुरु, शिक्षक, अभिभावक तथा मार्गदर्शकप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा हराउँदै गएको अवस्थामा यसले मानिसलाई संस्कारयुक्त बन्न प्रेरित पनि गर्दछ ।
पौराणिककाल होस् वा सूचना र प्रविधिको अहिलेको युग, गुरुबिना ज्ञान प्राप्त सम्भव छैन । त्यसैले गुरु पूर्णिमाले गुरु–शिष्य परम्पराको सम्मान गर्दै समाजमा शिक्षा, संस्कार, नैतिकता, सदाचार र जीवनदर्शनको महत्वलाई पुनः स्मरण गराउने सन्देश दिन्छ।
ज्ञानले मात्र व्यक्ति सफल हुँदैन, त्यसलाई सही दिशा दिने गुरुको भूमिका पनि उत्तिकै अपरिहार्य हुन्छ भन्ने सन्देश यो पर्वले आज पनि उत्तिकै सान्दर्भिक रूपमा प्रवाह गरिरहेको छ।
पृष्ठभूमि
सृष्टिको उषाकालदेखि मानव चेतनाको रचनासम्म आइपुग्दा ऊर्ध्वगामी ज्ञानको भूमिका उपस्थापित भएको शाश्वत सत्य आममानव सभ्यताले स्वीकार गर्नुपर्छ । पौरस्त्य सामाजिक-सांस्कृतिक, रीतिस्थिति एवम् नीतिपरम्पराको अमूल्य ग्रन्थहितोपदेशको सुन्दर सूक्त न चोरहार्यं न च राजहार्यं न भ्रातृभाज्यं न च भारकारी । व्यये कृते वर्धत एव नित्यं विद्याधनं सर्वधनप्रधानम् ।
अर्थात् विद्याधन न चोरले चोर्न सक्छ, नत राज्यले खोस्न सक्छ, न दाजुभाइबीच अंशबण्डा नै लाग्छ, न त जीवनमा कुनै प्रकारको बोझ सिर्जना गर्छ । खर्च गर्दा वृद्धि हुन्छ । त्यसैले यस संसारका सबैभन्दा श्रेष्ठ र प्रधान धन भनेको ज्ञान वा विद्या हो ।
एक्काइसौँ शताब्दीको घाटी रेट्ने प्रतिस्पर्धा र तीव्र गतिमा विकास हुँदै सूचनाप्रविधि एवम् सामाजिक सञ्जालको विकासक्रमसँगै भौतिकवादी युगमा प्रस्तुत महान सूक्तिको सान्दर्भिकता अझ बलिष्ठ हुन गएको छ ।
वैदिक ज्ञानको अविरल यात्रा तय गर्दाको अवस्थासम्म आइपुग्दा पौरस्त्य दर्शनका तमाम ग्रन्थहरूले विद्या वा ज्ञानको महिमा विविध आयामद्बारा बहुआयामिक स्वरूपमा विवेचना गरेको पाइन्छ ।
उपनिषद्
मानव सभ्यताको प्राचीनतम अपौरूषेय एवम् अलौकिकवेदले ज्ञानलाई अन्धकारबाट उज्यालोतर्फ लैजाने ज्योतिको रूपमा स्वीकार गरेको छ । सत्यं ज्ञानमनन्तं ब्रह्म (तैत्तिरीय उपनिषद्) अर्थात् सत्य र ज्ञान नै अनन्त ऊर्जा हुन् ।
उपनिषद्ले ज्ञानलाई अपरा विद्या (सांसारिक, व्यावहारिक र वैज्ञानिक ज्ञान) रपरा विद्या (आध्यात्मिक वा आत्मज्ञान) गरी दुई हाँगामा विभक्त गरेको छ । उपनिषद्को उद्घोष छसा विद्या या विमुक्तयेअर्थात् सत्य विद्याले मानिसलाई बन्धनबाट मुक्ति दिलाउछ ।
रामायण र महाभारत
रामायणमा ज्ञान र नैतिक चरित्र निर्माणको अनुपम नमूना प्रस्तुत गरिएको छ । महाविद्वान रावण सर्वगुणसम्पन्न भएर पनि विवेक र नैतिक ज्ञानबाट च्युत हुँदा उसको पतन निश्चित भयो । रावण मृत्युशय्यामा हुँदा भगवान् रामले लक्ष्मणलाई व्यावहारिक र राजनीतिक ज्ञान लिन रावणकहाँ पठाउनु भनेको ज्ञानको श्रेष्ठता नै हो ।
ज्ञानाग्निः सर्वकर्माणि भस्मसात् कुरुते तथा महाभारत (गीता ४।३७) मा उल्लिखित यसको भावार्थ ज्ञानको आगोले सम्पूर्ण अज्ञानता र पाप भस्म गरिदिन्छ भन्ने हो । यथार्थमा महाभारतको युद्ध शस्त्रको मात्र थिएन, सत्यवादी युधिष्ठिरको धर्मज्ञान र शकुनीको कुटिल बुद्धिबिचको चेतनाको लडाइ पनि थियो ।
श्रीमद्भगवद्गीता
महाभारतबाटै उद्धृत “न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते” । (४।३८) अर्थात्यस संसारमा ज्ञान जस्तो पवित्र वस्तु अरू केही पनि छैन । गीताले ज्ञानयोगमार्फत मानिसलाई कर्तव्यपथमा अडिग रहन सिकाउँछ । कृष्णका अनुसार ज्ञान त्यो हो जसले मानिसलाई मोह र शोकबाट मुक्त गराई समत्व भाव पैदा गर्छ ।
श्रीमद्भागवत महापुराणमा ज्ञानलाई भक्तिको जननी भनिएको छ । भागवतअनुसार विवेक र वैराग्य बिनाको जीवन निरर्थक हुन्छ र त्यो विवेक शुद्ध ज्ञानबाट मात्र प्राप्त हुन्छ। ज्ञानले मानिसलाई अहङ्कारबाट मुक्त गराइ विनम्रता (विनय) तर्फ डोर्याञउँछ।
नीतिशास्त्र
चाणक्य नीति, विदुर नीति र भर्तृहरिको नीतिशतकम् जस्ता ग्रन्थहरूले विद्यालाई मानवको तेस्रो आँखाका रूपमा लिएको देखिन्छ । हितोपदेशको उपर्युक्त प्रस्तुत श्लोकले भौतिक पुँजी र बौद्धिक पुँजीबिचको फरकपनलाई स्पष्ट दिशानिर्देश गरेको छ ।
सुरक्षा र अखण्डता: भौतिक सम्पत्ति सधैँ जोखिममा रहन्छ । तर ज्ञान मानिसको चेतनामा अन्तर्निहित हुने भएकाले यो बाह्य शक्ति, कर प्रणाली वा लुटेराले खोस्न सक्दैन।
समानता र शान्ति: पैतृक सम्पत्तिको बाँडफाँट हुँदा खण्डीकरण र कलह हुन्छ र ज्ञान बाँड्नु पर्दैन । भौतिक धन बढी हुँदा सुरक्षाको चिन्ताले मानसिक तनाब बढ्छ भने ज्ञानले मानिसलाई अझ हलुका र शान्त बनाउँछ ।
वृद्धिको नियम: अर्थशास्त्रको नियमअनुसार वस्तु वा पदार्थको उपभोग बढ्दै जाँदा सो वस्तु वा पदार्थ रित्तिदै जान्छ । ज्ञान जति धेरै शिक्षण, सिकाइ, लेखन र विचार विमर्श गर्दै अगाडि बढ्दा यो त्यति नै परिष्कृत र विस्तारित हुँदै जान्छ ।
ज्ञान अर्थतन्त्र
पौरस्त्य दर्शनका यी अवधारणाहरू आजको आधुनिक पाश्चात्य दर्शन र अर्थशास्त्रमा कार्यान्वयन भएको देखिन्छ ।
मानवस्रोत पुँजी: आधुनिक अर्थशास्त्रीहरूले के स्पष्ट पारेका छन् भने कुनै पनि देशको वास्तविक विकास प्राकृतिक स्रोत वा मेसिनले संभव हुँदैन त्यहाँका नागरिकको शिक्षा, सीप र क्षमतामा निर्भर रहन्छ ।
आजको एक्काइसौँ शताब्दी सूचनाप्रविधि र नवप्रवर्तनको युग हो । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) र बौद्धिक सम्पत्ति (इन्टेलेक्चुयल प्रोपर्टी) नै आजको वैश्विक अमूल्य सम्पत्ति हुन्, जसको पृष्ठभूमि हितोपदेशमा उल्लिखित विद्यानै हो ।
निरन्तर सिकाइ: तीव्र गतिमा परिवर्तन भएको प्रविधिका कारण आज सिकेको कुरा भोलि पूरानो हुन्छ । आधुनिक दर्शनले सिक्नका लागि सिक्ने (लर्निङ टु लर्न) कलामा उच्चजोड दिन्छ, जुन हितोपदेशको व्यये कृते वर्धत एव नित्यं अवधारणासँग मेल खान्छ ।
संस्कार
यन्नवे भाजने लग्न संस्कारो नान्यथाभवेत् । कथाच्छलेन बालानां क्रियते चोपदेशिका । (नीतिशास्त्र)
अर्थात् जसरी काँचो (नपाकेको) माटोको भाँडोमा एकपटक कोरिएका चित्र, रेखा वा बनाइएका आकृतिहरू भाँडोलाई आगोमा पकाएपछि पनि कहिल्यै मेटिँदैनन्, त्यसै गरी सानो उमेरका बालबालिकाको मनमा कथाको माध्यमबाट दिइएका नैतिक र व्यावहारिक ज्ञान जीवनभर मेटिँदैन ।
प्रस्तुत श्लोकले बालबालिकालाई शैशवकालमा रोचक कथा कविताका माध्यमबाट जीवनोपयोगी, नैतिक र व्यावहारिक शिक्षा (संस्कार) दिनुपर्छ जुन उनीहरूका लागि जीवनभर मार्गदर्शक बन्दछ ।
नेपालको संविधान
हितोपदेशको “विद्याधनं सर्वधनम् प्रधानम”को आदर्श भावना आधुनिक लोकतान्त्रिक कानुनले नागरिकको मौलिक हकका रूपमा लिपिबद्ध गरेको छ । संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हक प्रत्येक नागरिकको मौलिक अधिकारको रूपमा स्वीकार गरेको छ ।
प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक, अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्चशिक्षा पाउने हक, दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट कानुनबमोजिम निःशुल्क शिक्षा पाउने हकको व्यवस्था गरिएको छ ।
त्यसै गरी नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ ।
संविधानद्बारा प्रदत्त यसप्रकारको व्यवस्थाले के स्पष्ट हुन्छ भने प्राचीनकालमा व्यक्ति आफैँले आर्जन गर्ने विद्याधन आधुनिक राज्य व्यवस्थामा नागरिकको नैसर्गिक अधिकार र राज्यको अनिवार्य दायित्वका रूपमा हेरिएको छ ।
राज्यले आफ्ना नागरिकलाई शिक्षित र सचेत नबनाएसम्म लोकतन्त्रको जग बलियो हुन सक्दैन र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा हुन सक्दैन भन्ने कुरा नेपालको संविधानले आत्मसात् गरेको छ ।
डिजिटल युग
वर्तमान युगमा सूचना तथा तथ्याङ्कको सङ्कलन अत्यधिक भए तापनि सत्य ज्ञानको प्रष्ट अभाव देखिन्छ । सामाजिक सञ्जालमा छरिएका भ्रामक प्रचारहरू र भावहरण वा बौद्धिक चोरीका घटनाहरू निरन्तर वृद्धि भइरहेका छ ।हितोपदेशको वास्तविक सत्यको पुनर्पुष्टि यहाँ अझ भएको प्रतीत हुन्छ ।
चोरले कसैको लेख वा प्रविधि चोर्न सके तापनि सिर्जना गर्ने मौलिक क्षमतार बुद्धिमत्ता कहिल्यै चोर्न सक्दैन । डिजिटल प्रविधिको युगमा ज्ञानको संचयभन्दा त्यसको सही विवेकपूर्ण अनुप्रयोग महत्त्वपूर्ण प्रमाणित हुन्छ । यसको वकालत वैदिक सनातनीका पौरस्त्य दर्शनले हजारौं वर्षपूर्व गरेको तथ्यका बारेमा हामी उच्चशिर गर्दै गर्वकासाथ भन्न सक्छौं ।
निष्कर्ष
वैदिककालको आत्मज्ञानदेखि आधुनिक युगको ज्ञानको अर्थतन्त्रसम्म आइपुग्दा विद्या नै मानव अस्तित्व, संस्कार, सभ्यता र प्रगतिको मूल स्रोत भएको तथ्य निर्विवाद छ । भौतिक धन क्षणभङ्गुर, सीमाबद्ध र नासवान् हुन्छ भने ज्ञान अजर, अमर र अनन्त हुन्छ । अत: राज्यद्बारा शिक्षा, प्रविधि र अनुसन्धानसम्बन्धी कार्यमा हुने लगानीलाई खर्चवा घाटा नभनी भविष्यको स्वच्छ र समृद्ध पुँजी निर्माणको कोशेढुङ्गाका रूपमा लिइनुपर्छ ।
व्यक्तिगत जीवनमा पनि भौतिक आसक्ति र क्षणिक उपभोगभन्दा चेतना, विवेक र बौद्धिक विकासमा जोड दिनु आवश्यक छ । जब समाजका प्रत्येक व्यक्तिमा ज्ञानरुपी धनको ज्योति बल्छ, तब मात्र सभ्य, न्यायपूर्ण, नैतिक र समृद्ध राष्ट्रको निर्माण सम्भव हुन्छ । यसका लागि गुरुको मार्गर्शन अपरिहार्य छ।
गुरुबाट प्राप्त हुने निष्काम ज्ञान नै विश्वब्रह्माण्डको सबैभन्दा उच्च र शाश्वत धन हो भन्ने आदर्श वाक्यलाई शिरोधार्य गर्दै गुरुको सम्मानमा भक्तिभाव र निष्ठा प्रकट गर्नु नै वास्तविक गुरूपूर्णिमा मनाउनुको सार्थकता हुनेछ । यही नै वैदिक सनातन संस्कृति र मानव सभ्यताको शाश्वत सन्देश हो ।




प्रतिक्रिया राख्नुहोस्