राजनीति

तराईको अवस्था सामान्य बन्दै, शान्तिको कामनासहित गृहमन्त्रीद्वारा जानकी मन्दिरमा पूजार्चना

सुनसरीको देवानगञ्जलगायत तराईका केही जिल्लामा भएको धार्मिक तथा सामुदायिक तनावलाई साम्य पार्न गृह मन्त्रालयको सक्रिय पहल जारी रहेका बेला गृहमन्त्री सुधन गुरुङले जानकी मन्दिरमा पूजार्चना गर्नुभएको छ।

पछिल्ला दुई दिनदेखि मधेश प्रदेशमै रहँदै सुरक्षा अवस्था, राहत तथा पुनर्स्थापनाका कामको प्रत्यक्ष अनुगमन गरिरहनुभएका गृहमन्त्री गुरुङले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको कामनासहित जनकपुरस्थित जानकी मन्दिरमा पूजार्चना गर्नुभएको हो।

गृहमन्त्री गुरुङले जानकी मन्दिरमा दर्शन तथा पूजार्चना गर्नुभएको थियो। उहाँलाई मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गर्दै प्रसाद प्रदान गर्नुभएको थियो।

गृहमन्त्रीले मुलुकमा शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, धार्मिक अगुवा तथा नागरिकलाई संयमता अपनाई संवाद र सहकार्यबाट समस्या समाधान गर्न सहयोग गर्न आग्रह गर्नुभएको छ।

गृहमन्त्री गुरुङले तनाव प्रभावित क्षेत्रका पीडित परिवार, विभिन्न धार्मिक संघ–संस्था, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला पक्षसँग छुट्टाछुट्टै छलफल गरी संवादमार्फत समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको छ।

छलफलका क्रममा पीडित परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार तथा घटनामा संलग्नमाथि निष्पक्ष कानुनी कारबाही गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

गृह मन्त्रालयका अनुसार झडपमा ज्यान गुमाएकाप्रति सरकारले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेको उपचारमा कुनै कमी हुन नदिने गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

सरकारको पहल, स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल तथा धार्मिक अगुवाहरूबीचको निरन्तर संवादपछि तराईका अधिकांश प्रभावित क्षेत्रमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। बजार, यातायात र शैक्षिक गतिविधि विस्तारै सञ्चालनमा आउन थालेका छन्।

सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै प्रशासनले लगाइएको कर्फ्यु तथा निषेधाज्ञा पनि चरणबद्ध रूपमा खुकुलो पार्न थालिएको छ। संवेदनशील क्षेत्रमा भने सुरक्षा सतर्कता यथावत् राखिएको छ ताकि पुनः कुनै अप्रिय घटना नदोहोरियोस्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.