जापान

छ वर्षको मर्मतपछि ‘कुलीन महिला’ वाष्प रेल पुनः सञ्चालनमा आउँदै

जापानको चर्चित सी–५७ श्रेणीको वाष्प इन्जिनको लामो समयदेखि जारी प्रमुख मर्मतसम्भार सम्पन्न भएको छ। करिब छ वर्षदेखि नियमित सेवाबाट बाहिर रहेको यो ऐतिहासिक रेल इन्जिन आगामी अक्टोबर ३ देखि पुनः व्यावसायिक सञ्चालनमा आउने भएको छ।

‘किफुजिन’ अर्थात् ‘कुलीन महिला’ उपनामले चिनिने उक्त वाष्प इन्जिनले शनिबार परीक्षण यात्रा गरेको थियो। यसको आकर्षक र केही पातलो बनोटका कारण यसलाई ‘किफुजिन’ नाम दिइएको हो।

मर्मतपछि सी–५७ इन्जिनले पश्चिम जापान रेल्वे कम्पनी (जेआर वेस्ट) अन्तर्गतको यामागुची लाइनमा शिन–यामागुचीदेखि सु्वानो स्टेसनसम्मको ६२.९ किलोमिटर दूरीमा परीक्षण यात्रा गरेको हो। उक्त रेलमार्ग पश्चिम जापानका यामागुची र शिमाने प्रान्तलाई जोड्छ।

परीक्षण यात्राका क्रममा सी–५७ ले तानेको रेललाई सञ्चारमाध्यमका प्रतिनिधिलाई अवलोकन गराइएको थियो। परीक्षण सफल भएपछि ऐतिहासिक वाष्प रेललाई पुनः यात्रु सेवामा फर्काउने तयारी गरिएको हो।

सन् १९३७ मा निर्माण

जेआर वेस्टका अनुसार सी–५७ वाष्प इन्जिनको निर्माण सन् १९३७ मा गरिएको थियो। जापानको तत्कालीन राष्ट्रिय रेल्वे संस्था ‘जापानी नेसनल रेलवेज’ ले सन् १९७९ देखि यसलाई पर्यटकीय रेल सेवाका रूपमा सञ्चालन गर्न थालेको थियो।

त्यस समय यो रेल यामागुची प्रान्तको राजधानी यामागुची सहरस्थित तत्कालीन ओगोरी स्टेसन—हालको शिन–यामागुची स्टेसन—देखि शिमाने प्रान्तको सु्वानो नगरस्थित सु्वानो स्टेसनसम्म सञ्चालन हुने ‘एसएल यामागुची–गो’ पर्यटकीय रेल सेवामा प्रयोग गरिएको थियो।

सन् १९८७ मा जापानी नेसनल रेलवेजको निजीकरण भएपछि जेआर वेस्टसहित जापान रेलवेज समूहका विभिन्न कम्पनी स्थापना भए। त्यसपछि पनि सी–५७ लाई पर्यटकीय रेल सेवामा निरन्तर प्रयोग गरिँदै आएको थियो।

ऐतिहासिक महत्व बोकेको यो वाष्प इन्जिन जापानको रेल इतिहाससँगै यामागुची क्षेत्रको पर्यटनसँग पनि जोडिएको छ। करिब छ वर्षको विश्रामपछि पुनः सञ्चालनमा आउन लागेको सी–५७ पर्यटक तथा रेलप्रेमीका लागि समेत आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

समाचार स्रोत- जीजी प्रेस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.