बाढी र पहिरोले देशका विभिन्न स्थानमा क्षति (फोटो फिचर)
देशका विभिन्न स्थानमा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जनजीवन प्रभावित हुनुका साथै भौतिक संरचनामा क्षति पुगेको छ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रा गाउँमा शनिबार रातिको भारी वर्षापछि आएको बाढीले एक गुम्बासहित पाँच घरमा क्षति पुर्याएको छ।

भिरालो पहाडको खोँचमा अवस्थित लुप्रा गाउँको बीचबाट बग्ने खोलामा आएको बाढीले स्थानीयका घर तथा अन्य संरचनामा क्षति पुगेको हो।
यस्तै, अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल महानगरपालिका–११ माथिल्लो मजुवा टोलमा तीनवटा घर बगाएको छ भने तीनवटा घरमा क्षति पुगेको छ। आइतबार आएको बाढीका कारण स्थानीयवासी प्रभावित भएका छन्।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित बोटेटोलमा पनि नारायणी नदीमा आएको बाढीका कारण बस्ती डुबानमा परेको छ। बाढी बस्तीमा पस्दा यहाँका करिब ११० घर डुबानमा परेका छन्।

यसैगरी, अरनिको राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–८ को जिपलाइन सडकखण्डमा आइतबार बिहान सडक माथिबाट ढुङ्गा, माटोसहितको पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

पहिरोका कारण उक्त सडकखण्डमा यातायात सञ्चालन प्रभावित भएको छ।
तस्वीरहरु : सुन्दरकुमार थकाली, टेकराज पोखरेल, सुमित्रा चापागाई (अधिकारी) रासस




प्रतिक्रिया राख्नुहोस्