प्रबास

बाल्टिमोरमा नेपालको संस्कृति झल्काउने सडक महोत्सव

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाली कला, संस्कृति, परम्परा तथा सम्पदाको प्रवद्र्धन गर्दै नेपाललाई विदेशी समुदायमाझ चिनाउने उद्देश्यले ‘नेपाल सडक महोत्सव–२०२६’ आयोजना गरिएको छ।

यस्ता सांस्कृतिक कार्यक्रमले विदेशमा नेपालको मौलिक पहिचान र सम्पदाको प्रचार–प्रसारसँगै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाली समुदायको साझा संस्था बाल्टिमोर एसोसिएसन अफ नेपालीज इन अमेरिका (बाना)को अगुवाइमा गत आइतबार आयोजना गरिएको महोत्सवमा मेरिल्याण्डसहित आसपासका राज्यमा बसोबास गर्ने नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

‘हाम्रो संस्कृति, सम्पदा र समुदायको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा नेपाली समुदायका विभिन्न जातीय तथा क्षेत्रीय संघसंस्थाले आ–आफ्ना ब्यानरसहित सहभागिता जनाएका थिए। सहभागी संस्थाले आफ्ना मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने विभिन्न झाँकीसमेत प्रस्तुत गरेका थिए।

महोत्सवमा नेपाली कला, संस्कृति, परम्परा, संगीत, नृत्य तथा हस्तकलाका साथै विभिन्न नेपाली खानाका परिकार प्रदर्शन तथा प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए।

महोत्सवले नेपालका हिमाल, पहाड, तराईका विविध संस्कृति, परम्परा र प्राकृतिक तथा पर्यटकीय सम्पदालाई विदेशी समुदायमाझ चिनाउन सहयोग पुर्‍याउने आयोजकको विश्वास छ।

नेपाली संस्कृति र सम्पदाप्रति विदेशी समुदायमा आकर्षण बढाउन सके त्यसले नेपाल भ्रमणका लागि सम्भावित पर्यटकलाई आकर्षित गर्नसमेत सहयोग पुग्ने आयोजकको भनाइ छ।

बानाका वरिष्ठ उपाध्यक्ष जनकबहादुर थापाले नेपालको कला, संस्कृति, परम्परा तथा सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन तथा प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार यस्ता कार्यक्रम नेपाली समुदायलाई आफ्नो मौलिक संस्कृति र पहिचानसँग जोडिराख्नुका साथै स्थानीय अमेरिकी समुदायलाई नेपालबारे प्रत्यक्ष रूपमा जानकारी गराउने माध्यमसमेत बन्दै आएका छन्।

बानाले विगत सात वर्षदेखि हरेक वर्ष नेपाल सडक महोत्सव आयोजना गर्दै आएको छ। यस वर्षको महोत्सव आठौँ संस्करण हो। निरन्तर आयोजना हुँदै आएको महोत्सवले नेपाली कला, संस्कृति र परम्परालाई अमेरिकी समाजमा परिचित गराउन तथा नेपाल र अमेरिकाबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउँदै आएको आयोजकको भनाइ छ।

नेपालको प्राकृतिक सौन्दर्य, हिमाल, पदयात्रा, सम्पदा, कला, संस्कृति र विविधताबारे विदेशमा हुने यस्ता कार्यक्रमलाई पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा समेत लिन सकिन्छ।

विशेष गरी नेपाली खाना, संगीत, नृत्य, हस्तकला र सांस्कृतिक झाँकीमार्फत नेपालबारे प्रत्यक्ष अनुभव गराउन सके त्यसले नेपाल भ्रमणप्रतिको रुचि बढाउन सहयोग गर्ने पर्यटन क्षेत्रका जानकारहरूको धारणा छ।

महोत्सवले नेपाली समुदायभित्रको एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाउनुका साथै अमेरिकी समुदायमाझ नेपाललाई चिनाउने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। यसले सांस्कृतिक आदानप्रदानमार्फत नेपाल र अमेरिकाबीचको जनस्तरीय सम्बन्ध विस्तार गर्नसमेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यसैबीच, हालै भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउन पनि महोत्सवका माध्यमबाट आह्वान गरिएको थियो।

नेपाली दूतावास, वासिङ्टन डीसी, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका तथा नेपाल पर्यटन बोर्डलगायतका संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरिएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.