जापानबिशेष

जापानी युवाको प्रेममा नयाँ ट्रेन्ड : डेटिङ एप छाडेर म्याचमेकिङ एजेन्सीतिर

जापानमा प्रेमसम्बन्ध र विवाहका लागि युवापुस्ताले डेटिङ एपभन्दा व्यावसायिक विवाह एजेन्सी रोज्ने क्रम बढ्दै गएको छ। विवाहका लागि इच्छुक युवायुवतीलाई मिलाउनेदेखि डेटिङको शैली, संवाद र सम्बन्धलाई विवाहसम्म पुर्‍याउने प्रक्रियामा समेत परामर्श दिने यस्ता एजेन्सीमा पछिल्लो समय २० वर्ष आसपासका युवाको आकर्षण बढेको हो।

द जापान टाइम्समा रिभर अकिरा डेभिस र किउको नोटोयाले लेखेको रिपोर्टअनुसार, जापानमा सयौँ वर्षदेखि ‘ओमियाइ’ अर्थात् परिवार, आफन्त, साथीभाइ वा कार्यालयका वरिष्ठ व्यक्तिको पहलमा विवाहका लागि जोडी मिलाउने परम्परा रहँदै आएको थियो।

तर आधुनिक डेटिङ संस्कृति र डेटिङ एपको विस्तारसँगै उक्त परम्परा कमजोर भएको थियो। अहिले भने डेटिङ एपमा देखिएका ‘घोस्टिङ’, नक्कली परिचय र विवाहप्रति गम्भीर नभएका सम्बन्धबाट दिक्क भएका युवाहरू पुनः मानव मध्यस्थतामार्फत सम्बन्ध अघि बढाउनेतर्फ आकर्षित भइरहेका छन्।

टोकियोका मेट्रो रेलमा समेत विवाह एजेन्सीका विज्ञापन देखिन थालेका छन्। कतिपय विज्ञापनले ‘जीवनका भाग्यशाली भेटघाट विज्ञलाई जिम्मा दिनुहोस्’ भन्दै विवाहका लागि एजेन्सीको सेवा लिन आह्वान गर्छन् भने कतिपयले सयौँपटक डेटिङ एपमा ‘स्वाइप’ गर्नुभन्दा एउटा ‘ओमियाइ’ नै पर्याप्त हुने सन्देश दिएका छन्।

२८ वर्षीय ताइजेन यासुदा पनि यस्तै सेवामा जोडिएका युवामध्ये एक हुन्। डेटिङ एपमार्फत लामो समयसम्म व्यक्ति खोज्ने, सन्देश आदानप्रदान गर्ने र अन्ततः भेट्ने प्रक्रिया झन्झटिलो र थकाइलाग्दो भएपछि विवाह एजेन्सी रोजेको उनले बताएका छन्। आफ्नो लक्ष्य विवाह भएकाले त्यही लक्ष्य बोकेको व्यक्तिसँग छिटो भेट्न सकिने विश्वासमा आफू एजेन्सीमा आबद्ध भएको उनको भनाइ छ।

तीन महिनामै विवाहसम्म पुर्‍याउने दाबी

जापानमा घट्दो जनसंख्या र कम हुँदै गएको युवा परिवारको समस्याबीच विवाह एजेन्सीको व्यवसाय पनि विस्तार भइरहेको छ। जापानमा सन्तान जन्माउने विषय अझै ठूलो हदसम्म विवाहसँग जोडिएकाले विवाहको संख्या बढाउने प्रयासलाई जन्मदर वृद्धिको राष्ट्रिय प्रयाससँग समेत जोडेर हेर्ने गरिएको छ।

टोकियोमा मुख्यालय रहेको आईबीजे यस्तो व्यवसायको प्रमुख कम्पनीका रूपमा अघि आएको छ। देशभरका विवाह एजेन्सीको सञ्जाल रहेको आईबीजेले पहिलो भेटदेखि विवाह प्रस्तावसम्मको प्रक्रिया तीन महिनामै अघि बढाउन सकिने दाबी गर्छ। कम्पनीका अनुसार जापानमा हुने करिब प्रत्येक २५ विवाहमध्ये एउटामा उसको कुनै न कुनै प्रकारको संलग्नता हुन्छ।

यासुदा आईबीजेको सेवामा जोडिएपछि एक महिनाभन्दा केही बढी समयमै दुई महिलालाई सम्भावित जीवनसाथीका रूपमा छनोट गर्ने अवस्थामा पुगेका थिए। उनले तीमध्ये एकलाई सप्ताहान्तमा गाडीमा घुमाउनसमेत लगेका थिए।

आईबीजेका सदस्यलाई एक जना परामर्शदाता तोकिन्छन्। ती परामर्शदाताले व्यक्तिगत सजावट, सन्देश पठाउने तरिका, डेटका लागि स्थान र कार्यक्रम छनोटदेखि सम्बन्ध कसरी अघि बढाउने भन्नेसम्म सुझाव दिन्छन्।

दुई सदस्यबीच सम्बन्ध अघि बढेपछि दुवैका परामर्शदाताले पर्दापछाडि समन्वय गर्ने र भेटपछिको प्रतिक्रिया आदानप्रदान गर्नेदेखि विवाह प्रस्तावसम्मको प्रक्रियामा सहयोग गर्ने गर्छन्।

आईबीजेका प्रमुख कार्यकारी अधिकृत शिगेरु इशिजाकाका अनुसार, मानिसले मानिसलाई नै दिन सक्ने सहयोगमार्फत ग्राहकलाई सकेसम्म छिटो विवाहसम्म पुर्‍याउने उद्देश्य कम्पनीको रहेको छ।

टोकियोस्थित तोकाई विश्वविद्यालयकी प्रेमसम्बन्धको मनोविज्ञान अध्ययन गर्ने व्याख्याता जुनको यामादाका अनुसार डिजिटल माध्यमको विस्तारसँगै पनि डेटिङ प्रक्रियामा कसैले व्यक्तिगत रूपमा मार्गदर्शन गरिदियोस् भन्ने चाहना युवामा देखिन्छ। परम्परागत ‘ओमियाइ’मा जस्तै विज्ञले सम्भावित जोडी छनोट गरिदिँदा युवाले मनोवैज्ञानिक रूपमा सुरक्षित महसुस गर्न सक्ने उनको भनाइ छ।

शुल्क पनि महँगो

आईबीजेसँग आबद्ध विवाह एजेन्सीअनुसार शुल्क र सदस्य बन्ने मापदण्ड फरक–फरक छन्। सामान्यतः सदस्यले मासिक करिब ३० देखि १०० अमेरिकी डलर, प्रवेश शुल्क ६५० देखि १ हजार ३०० डलरसम्म र विवाहको सफलता अर्थात् जोडीको इन्गेजमेन्ट भएपछि थप १ हजार ३०० डलरसम्म शुल्क तिर्नुपर्ने हुन्छ।

कम्पनीका नियम उल्लङ्घन गरेमा पनि थप शुल्क लाग्न सक्छ। विवाहअघि यौनसम्बन्ध वा सँगै बस्नेजस्ता गतिविधिलाई प्रतिबन्धित गतिविधिका रूपमा राखिएको छ। सदस्य बन्न सामान्यतया स्थिर आम्दानी भएको हुनुपर्ने मापदण्ड छ। आईबीजेको सबैभन्दा ठूलो प्रत्यक्ष सञ्चालनमा रहेको एजेन्सीमा २० देखि ३९ वर्षसम्मका महिला र २५ देखि ४९ वर्षसम्मका पुरुषलाई मात्र सदस्य बनाइन्छ।

तर विवाहलाई व्यावसायिक सेवामा परिणत गरिएको भन्दै यसको आलोचना पनि भइरहेको छ। आलोचकहरूका अनुसार यस्ता कम्पनीले परम्परागत रूपमा व्यक्तिगत सम्बन्धमा आधारित जोडी मिलाउने संस्कृतिलाई व्यापारिक स्वरूप दिएका छन् र विवाहका लागि निश्चित समयसीमा तथा प्रक्रियाले युवामाथि थप दबाब सिर्जना गर्न सक्छ।

आईबीजेकी परामर्शदाता केइको हाटाले व्यक्तिगत साजसज्जादेखि सन्देश आदानप्रदानको शिष्टाचार र डेटिङका क्रममा जाने स्थान तथा कार्यक्रम तय गर्नेसम्मका विषयमा सुझाव दिन्छिन्। तस्बिर : नोरिको हयासी

परम्परागत जोडी मिलाउने शैलीका समर्थकको फरक धारणा

टोकियोबाहिर घरबाटै विवाहका लागि जोडी मिलाउँदै आएकी अनुभवी म्याचमेकर इको कोटो आईबीजेजस्ता संस्थाको शैलीप्रति सन्तुष्ट छैनन्। ४४ वर्षदेखि जोडी मिलाउँदै आएकी उनले आफूले १ हजार ३०० भन्दा बढी जोडीको विवाह गराएको र तीमध्ये कुनै पनि सम्बन्धविच्छेदमा नपरेको दाबी गरेकी छन्।

उनका अनुसार उनका अभिभावक पनि छिमेकमा विवाहका लागि जोडी मिलाउने काम गर्थे र आफूले त्यही परम्परा पछ्याएकी हुन्। आधुनिक कम्पनीहरू व्यवसायमा बढी केन्द्रित रहेको उनको आरोप छ।

कोटोले आफूले जोडी मिलाएपछि विवाहपछिको सम्बन्धमा समेत चासो राख्ने गरेको बताएकी छन्। उनले एकपटक विवाह गराएका एक जोडी अलग–अलग कोठामा सुतिरहेको थाहा पाएपछि उनीहरूलाई एउटै कोठामा सुत्न आग्रह गरेको प्रसङ्गसमेत सुनाएकी छन्। उनका अनुसार अहिलेका युवालाई विवाह र पारिवारिक जीवनका आधारभूत पक्षबारे समेत मार्गदर्शन आवश्यक पर्ने अवस्था देखिन्छ।

आईबीजे भने परम्परागत व्यक्तिगत म्याचमेकिङको आधुनिक र व्यावसायिक रूप भएको देखिन्छ। जोडी मिलाउने सेवासँगै कम्पनीका समूहअन्तर्गत विवाह समारोह आयोजना, वित्तीय परामर्श, आवाससम्बन्धी सेवा तथा सौन्दर्य सेवासहितका व्यवसाय पनि सञ्चालनमा छन्।

पाँच वर्षमा सदस्यता ५० प्रतिशत बढ्यो

आईबीजेको सदस्यता पछिल्लो पाँच वर्षमा करिब ५० प्रतिशत बढेको रिपोर्टमा उल्लेख छ। कम्पनीले सन् २०२६ को पहिलो छ महिनामा करिब ९ करोड १० लाख अमेरिकी डलर बराबरको आम्दानी गरेको र अघिल्लो वर्षको सोही अवधिको तुलनामा आम्दानी ४४ प्रतिशतले बढेको जनाएको छ।

आईबीजेका प्रमुख कार्यकारी इशिजाकाले भने कम्पनीको उद्देश्य केवल व्यापार नभएको बताएका छन्। सन् २००० मा बैंकिङ क्षेत्र छाडेर विवाह मिलाउने व्यवसायमा प्रवेश गर्दा जापानको तीव्र जनसांख्यिकीय गिरावट उल्ट्याउन योगदान गर्ने उद्देश्य आफूमा रहेको उनले बताएका छन्।

उनका अनुसार जापानमा विवाहबाहिर सन्तान जन्माउने दर निकै कम भएकाले विवाहमा केन्द्रित जोडी मिलाउने सेवाको भविष्य महत्वपूर्ण हुने उनले त्यतिबेलै बुझेका थिए।

जन्मदर घट्ने क्रमबीच विवाह एजेन्सीप्रति आशा

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२६ को पहिलो छ महिनामा जापानमा जन्मदर अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.८ प्रतिशतले बढेको छ। ११ वर्षपछि पहिलोपटक उक्त अवधिमा जन्मसंख्या बढेको हो। यसअघि लगातार दुई वर्ष विवाहको संख्या बढेको थियो।

इकुको काटोको घरमा उनले जोडी मिलाइदिएका १,३०० भन्दा बढी दम्पतीका तस्बिरहरू राखिएका छन्। उनी आफूले मिलाइदिएका कुनै पनि जोडीको सम्बन्धविच्छेद नभएको दाबी गर्छिन्।

विवाह एजेन्सीका ग्राहक यासुदाले पनि आफूले विवाह छिटो गर्न चाहनुको एउटा कारण भविष्यमा तीन वा चार सन्तान हुर्काउने इच्छा रहेको बताएका छन्।

आईबीजेका प्रमुख इशिजाकाका अनुसार विवाहबाट टाढिँदै गएको पुस्ताका रूपमा चित्रित गरिएका युवामध्ये ठूलो हिस्सा वास्तवमा विवाह नै गर्न चाहन्छ, तर त्यसका लागि बढी प्रभावकारी बाटो खोजिरहेको हुन सक्छ। उनका अनुसार सही जीवनसाथी भेटिएमा विवाह गर्न चाहने युवा ८० प्रतिशतभन्दा बढी रहेको विभिन्न सर्वेक्षणले देखाएका छन्।

जापानमा घट्दो जनसंख्या र जन्मदरको चुनौतीबीच युवालाई विवाहतर्फ आकर्षित गर्ने नयाँ माध्यमका रूपमा विवाह एजेन्सीको विस्तारले सामाजिक तथा व्यावसायिक दुवै पक्षमा बहस सिर्जना गरेको छ। परम्परागत ‘ओमियाइ’देखि डेटिङ एप हुँदै पुनः मानव मध्यस्थतामा फर्किएको यो प्रवृत्तिले जापानको बदलिँदो प्रेम, विवाह र पारिवारिक संस्कृतिलाई समेत प्रतिबिम्बित गरेको देखिन्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.