आइची–नागोया, जापान । एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत आयोजक जापान र दक्षिण कोरियाबीचको सेमिफाइनल हेर्न ५० हजार दर्शक क्षमताको रंगशालामा १ हजारभन्दा कम दर्शक उपस्थित भएका छन्।
आयोजक जापानले दक्षिण कोरियालाई २–० ले पराजित गरेको उक्त खेलमा आधिकारिक रूपमा ९९८ जना दर्शक उपस्थित भएको जनाइएको छ।
एसियाली खेलकुदका केही प्रतिस्पर्धामा दर्शकको उत्साहजनक सहभागिता देखिए पनि केही खेलमा दर्शक जुटाउन आयोजकलाई कठिन भइरहेको पछिल्लो घटनाले देखाएको छ।
यो घटना आयोजक आइची–नागोयाले मंगलबार एसियाको सबैभन्दा ठूलो बहुखेलकुद प्रतियोगिताका लागि १० लाखभन्दा बढी टिकट बिक्री भइसकेको जनाएको केही घण्टापछि भएको हो।
सेप्टेम्बर १९ मा भएको उद्घाटन समारोहमा हजारौं सिट खाली देखिएपछि जापानी आयोजकहरू दर्शक उपस्थितिको विषयमा निरन्तर स्पष्टीकरण दिन बाध्य हुँदै आएका छन्।
त्यसबेला आयोजकहरूले आँधीको सम्भावनाका कारण दर्शक प्रभावित भएको बताएका थिए। यसै साता आइतबारदेखि मंगलबारसम्म पनि जापानका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा भएको थियो।
केही खेलमा रंगशाला उत्साहजनक रूपमा भरिए पनि अन्य खेलमा भने दर्शकको उपस्थिति निकै न्यून देखिएको छ।
मंगलबार महिला फुटबलको पहिलो सेमिफाइनल पनि शिजुओकास्थित सोही रंगशालामा भएको थियो। सन् २००२ को फिफा विश्वकपका खेलसमेत आयोजना भएको उक्त रंगशालामा उत्तर कोरियाले चीनलाई २–० ले हराउँदा आधिकारिक रूपमा ५६४ जना दर्शक मात्र उपस्थित थिए।
लगातार वर्षा भइरहेका बेला त्यसपछि भएको आयोजक जापान र दक्षिण कोरियाबीचको खेलमा ९९८ जना दर्शकले जापानको २–० को जित हेरे। अब स्वर्ण पदकका लागि जापान र उत्तर कोरिया शुक्रबार यही रंगशालामा भिड्नेछन्।
यसअघि शनिबार स्थानीय आयोजक समितिले पुरुष तथा महिला १०० मिटर दौडजस्ता एथलेटिक्सका प्रमुख प्रतिस्पर्धा खाली सिटका पंक्तिबीच सञ्चालन भएपछि टिकट बिक्रीबाट आफूहरू ‘सन्तुष्ट नरहेको’ स्वीकार गरेको थियो।
खेल आयोजना समितिका महासचिव सातोशी मुरातेले एएफपीको प्रश्नको जवाफ दिँदै रंगशाला पूर्ण रूपमा भरिने लक्ष्यसहित टिकट बिक्रीलाई निरन्तरता दिने र टिकट खरिद गरिसकेका दर्शकलाई वास्तविक रूपमा खेल हेर्न उपस्थित गराउने प्रयास गरिने बताएका थिए।
आयोजकले मंगलबार अबेर जारी गरेको विज्ञप्तिमा समग्र टिकट बिक्री दर ७० प्रतिशतभन्दा बढी पुग्ने अपेक्षा गरिएको जनाएको छ।यसैबीच, दर्शक उपस्थितिसम्बन्धी विषयमा एएफपीले स्थानीय आयोजक समितिसँग प्रतिक्रिया मागेको छ। (एएफपी)




प्रतिक्रिया राख्नुहोस्