सह–पाइलटको आक्रमणपछि दुर्घटना रोक्न भूमिका खेलेका भारतीय पाइलटको प्रशंसा
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उडानका क्रममा सह–पाइलटको आक्रमणपछि विमानलाई नियन्त्रणमा लिएर सम्भावित ठूलो दुर्घटना रोक्न भूमिका खेलेका भारतीय पाइलट तथा यात्रुहरूको प्रशंसा गर्नुभएको छ ।
दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबाई विमानका सह–पाइलटले अर्का पाइलटमाथि आक्रमण गरेपछि विमान एक मिनेटभित्र करिब १७ हजार फिट तल झरेको र मार्ग परिवर्तन गरी साउदी अरेबियाको तबुकमा आकस्मिक अवतरण गर्नुपरेको थियो ।
विमानमा रहेका १७४ यात्रुमध्ये १६६ जना इजरायली नागरिक रहेको सञ्चारमाध्यमले जनाएका छन् । सबै यात्रु सुरक्षित रहेको फ्लाईदुबाईले जनाएको छ ।
प्रधानमन्त्री नेतान्याहुले सह–पाइलटले विमान दुर्घटनामा पारेर सबै यात्रुलाई मार्ने प्रयास गरेको बताउनुभयो । उहाँले यात्रुहरूले ठूलो विपत्ति रोक्न सहयोग गरेको भन्दै प्रशंसा गर्नुभयो । साथै, घाइते भारतीय पाइलट स्मित मच्छरले असाधारण बहादुरी देखाउँदै प्रतिकार गरेर विमानमा ठूलो दुर्घटना हुन नदिएको बताउनुभयो ।
भारतीय दूतावासका अनुसार घाइते पाइलटको साउदी अरेबियाको अस्पतालमा उपचार भइरहेको छ । तबुक विमानस्थल सञ्चालन गर्ने कम्पनीले सह–पाइलट पनि अवतरणका क्रममा घाइते भएको जनाएको छ । फ्लाईदुबाईले घटनाको अनुसन्धान भइरहेकाले इजरायलका लागि आफ्ना उडान स्थगित गरेको जनाएको छ ।
यात्रु मिरियम शिरा ओहायोनले विमान केही समय ‘धेरै हदसम्म नियन्त्रण बाहिर’ रहेको बताउनुभयो । उहाँका अनुसार सह–पाइलटले पाइलटको हत्या गर्ने प्रयास गरेपछि यात्रुहरूले उनलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए ।
अर्का यात्रु अल्मोग इटालीले ककपिटनजिकै झगडा सुरु हुनुअघि विमानमा ठूलो अशान्ति भएको र अगाडिका यात्रुले स्थिति नियन्त्रणमा लिन सहयोग गरेको बताउनुभयो ।
इजरायलको विदेश मन्त्रालयले घटनालाई इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध बिगार्ने उद्देश्यले गरिएको ‘आतङ्कवादी आक्रमणको प्रयास’ भनेको छ । रक्षामन्त्री इजरायल काट्जले यसलाई ‘जिहादी आतङ्कवादी आक्रमणको प्रयास’ भन्नुभएको छ ।
विदेशमन्त्री गिडियोन सारले संयुक्त अरब इमिरेट्सका शीर्ष कूटनीतिज्ञ अब्दुल्लाह बिन जायद अल नाह्यानसँग कुराकानी गर्दै चरमपन्थी तत्वविरुद्ध सहकार्य गर्न सहमति भएको बताउनुभएको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार सम्भावित अपहरणको आशंकामा सेनाले लडाकू विमान परिचालन गरेको थियो । विमानभित्रबाट खिचिएको भिडियोमा टाउकोमा चोट लागेका एक यात्रुले सहयोग मागेको देखिएको थियो । साउदी अरेबियामा अवतरणपछि आफूहरूलाई न्यानो स्वागत गरिएको यात्रु इटालीले बताउनुभयो ।
घटना अक्टोबरको अन्त्यमा हुने इजरायली निर्वाचनको केही साताअघि भएको हो । मङ्गलबार प्रधानमन्त्री नेतान्याहुले निर्वाचनअघि इजरायलका शत्रुहरूले आक्रमणको प्रयास गर्न सक्ने ‘सङ्केत’ रहेको बताउनुभएको थियो ।
क्याप्टेनलाई छुरा हानेर दुबई–तेल अभिभका लागि छुटेको विमान दुर्घटना गराउने प्रयास : इजरायली प्रधानमन्त्री
फ्लाइदुबईको विमानमा चालकहरूबीच झगडापछि आपतकालीन अवतरण




प्रतिक्रिया राख्नुहोस्