“मेरो सम्बोधनले कसैको मुटु नदुखोस्, मस्तिष्क नखलबलियोस्” : एमाले नेता बादल
नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले पछिल्लो राजनीतिक परिवर्तनपछि जनताको जनजीवनमा अपेक्षित सुधार र ठोस उपलब्धि हासिल हुन नसकेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले विश्वमा देखिएका विभिन्न सङ्कटसँगै नेपालमा देखिएका राजनीतिक, सामाजिक तथा आर्थिक समस्याको समाधानका लागि सरकारको पहलकदमी कमजोर देखिएको बताउनुभयो ।
उहाँले आफूले संसदमा उठाएका विषय कसैलाई लक्षित गरेर व्यक्तिगत रूपमा आक्षेप लगाउने उद्देश्यले नभएको भन्दै ‘मेरो सम्बोधनमा कसैको मुटु नदुखोस्, मस्तिष्क नखलबलियोस्’ भन्ने शैलीमा आफ्ना धारणा राख्नुभएको थियो ।
नेता थापाले गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेले व्यहोरेको पराजयलाई स्वीकार गरिएको तर त्यसबाट निराश भएर आत्मसमर्पण गर्ने पक्षमा पार्टी नरहेको स्पष्ट गर्नुभयो । निर्वाचन परिणामलाई गम्भीर शिक्षाका रूपमा लिएर पार्टीका कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले उक्त निर्वाचन परिणामलाई नयाँ राजनीतिक शक्तिको उदयका रूपमा व्याख्या गर्दै त्यसबाट आफूहरूले पनि गम्भीर शिक्षा लिनुपर्ने बताउनुभयो । निर्वाचनमा पराजित हुनु स्थायी पराजय नभएको भन्दै उहाँले पराजित पक्षले आफ्ना कमजोरी सच्याएर पुनः विजय हासिल गर्न सक्ने धारणा राख्नुभयो ।
नेता थापाले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे पनि प्रश्न उठाउनुभयो । उहाँले उक्त आन्दोलनको नेतृत्व, त्यसका क्रममा भएका हिंसात्मक घटना तथा राज्यका विभिन्न संरचनामाथि भएका आक्रमणबारे गम्भीर प्रश्न उठाउनुपर्ने बताउनुभयो ।
उहाँले आन्दोलनका क्रममा सिंहदरबार, शीतल निवास, बालुवाटार तथा सर्वोच्च अदालतजस्ता राज्यका महत्वपूर्ण संरचनामा आगजनी किन गरियो भन्ने प्रश्न गर्नुभयो ।
त्यसैगरी आन्दोलनका क्रममा हतियारधारी समूहहरू कसरी देखा परे र त्यसको उद्देश्य के थियो भन्ने विषयमा पनि स्पष्ट हुनुपर्ने उहाँको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीलाई पक्राउ गर्ने प्रक्रिया, राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने प्रयास, देशव्यापी दमन तथा राज्य आतंकजस्ता विषयमा समेत उहाँले सरकारसँग प्रश्न गर्नुभयो ।
विद्यार्थी तथा पेशाकर्मीलाई सङ्गठित हुने मौलिक अधिकारबाट वञ्चित गरिएको र सञ्चारमाध्यमबाट हुने सार्वजनिक बहसलाई समेत प्रभावित पार्ने प्रयास भएको उहाँले आरोप लगाउनुभयो ।
नेता थापाले पछिल्लो निर्वाचनमा नयाँ शक्तिले हासिल गरेको परिणाममा देशभित्रका विभिन्न संस्था तथा पक्षको भूमिका रहेको दाबीसमेत गर्नुभयो ।
उहाँले नेपाली सेना, कर्मचारीतन्त्र, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग तथा बारबरा फाउन्डेसनलगायतका संस्था तथा पात्रहरूको भूमिकामाथि प्रश्न उठाउनुभयो ।
त्यसैगरी निर्वाचन परिणाममा बाह्य प्रभावको समेत भूमिका रहेको दाबी गर्दै उहाँले कृत्रिम बौद्धिकता, विद्युतीय माध्यममा प्रयोग भएका प्रविधि तथा योजनाबद्ध प्रचारले जनमत निर्माणमा प्रभाव पारेको धारणा राख्नुभयो ।
राष्ट्रियता, लोकतन्त्र र समृद्धिका पक्षमा रहेका व्यक्तिलाई नकारात्मक रूपमा प्रस्तुत गरिएको तथा आन्दोलनका क्रममा देश जलाउने र राष्ट्रिय पहिचान मेटाउने पात्रहरूलाई नायकका रूपमा स्थापित गरिएको उहाँको आरोप थियो ।
उहाँले नयाँ सरकार गठनपछि जनताले परिवर्तनको अपेक्षा गरे पनि जनजीवनमा त्यसअनुसारको परिवर्तन देखिन नसकेको बताउनुभयो । आर्थिक कठिनाइ, रोजगारीको समस्या, सामाजिक असुरक्षा तथा राज्यप्रतिको विश्वासको सङ्कट समाधान गर्न सरकार थप गम्भीर भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
नेता थापाले सुशासन र पारदर्शिताको विषय उठाएर सरकार गठन भए पनि त्यसअनुसार व्यवहारमा काम हुन नसकेको आरोप लगाउनुभयो ।
पर्याप्त आधार र प्रमाणबिना पूर्वउच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गर्ने तथा राजनीतिक प्रतिशोधको वातावरण सिर्जना गर्ने कामले सुशासन र कानुनी शासनलाई बलियो नबनाउने उहाँले बताउनुभयो ।
उहाँले राजनीतिक परिवर्तनको नाममा राज्यका संस्थालाई कमजोर बनाउने, संवैधानिक निकायप्रति अविश्वास पैदा गर्ने तथा राजनीतिक असहमतिको समाधान दमनबाट खोज्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने बताउनुभयो ।
नेता थापाले भविष्यले पछिल्ला राजनीतिक घटनाक्रमसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिने बताउँदै एमालेले ती विषयलाई संसदमा निरन्तर उठाइरहने स्पष्ट गर्नुभयो ।
उहाँले प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, नेपाल श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र सांसदहरूलाई पनि आफ्नो भूमिकाका लागि शुभकामना दिनुभयो ।
उहाँले पछिल्लो निर्वाचनको परिणामले एमालेसहित पराजित पक्षलाई आफ्ना कमी–कमजोरी पहिचान गरी सुधार गर्ने अवसर दिएको बताउनुभयो । निर्वाचनमा भएको पराजयलाई अस्थायी ठान्दै पार्टीलाई पुनः जनताको विश्वासमा स्थापित गर्न सकिने उहाँको भनाइ थियो ।
“यो पराजय केवल अस्थायी हो र पराजित सेनाले सधैँ पराजयलाई विजयमा बदल्न सक्छ,” उहाँले भन्नुभयो ।
यद्यपि, संसदमा नेता थापाले व्यक्त गरेका कतिपय धारणाप्रति एमालेकै नेताहरूले असहमति जनाएका छन् । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले थापाको अभिव्यक्ति पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेको बताउँदै यस विषयमा केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल हुने बताउनुभएको छ ।
त्यस्तै, उपमहासचिव योगेश भट्टराईले नेपाली सेना, सुरक्षा निकाय, न्यायालय तथा संवैधानिक निकाय र कर्मचारीतन्त्रप्रति एमालेको कुनै वैरभाव नरहेको स्पष्ट पार्नुभएको छ ।
जनताको बहुदलीय जनवादको मान्यताअनुसार जनताले दिएको जनमतलाई सम्मान गर्दै निर्वाचनमा भएको पराजयको ठोस समीक्षा गरी कमजोरी सच्याएर पुनः जनविश्वास आर्जन गर्नुपर्ने उहाँको धारणा छ ।




प्रतिक्रिया राख्नुहोस्