फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा, घटनापछि हवाई सुरक्षामा प्रश्न
इजरायलतर्फ उडिरहेको फ्लाईदुबईको विमानमा भएको घटनापछि सहचालकसँग सम्बन्धित नयाँ विवरण सार्वजनिक भएको छ । अधिकारीका अनुसार ती सहचालकलाई यसअघि आफ्नै देश ओमानमा केही चिन्ताका कारण विमान उडाउनबाट रोक लगाइएको थियो ।
समाचारअनुसार ओमानमा उडानमा रोक लगाइएपछि उहाँलाई संयुक्त अरब इमिरेट्समा रहेको फ्लाईदुबईले रोजगारी दिएको थियो । उहाँलाई नियुक्त गर्ने क्रममा गरिएको सुरक्षा जाँच कति विस्तृत थियो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।
विमानमा १८२ जना यात्रु रहेका थिए। घटनापछि मध्यपूर्वको हवाई सुरक्षासम्बन्धी विषयमा थप चासो बढेको छ । घटनाको वास्तविक कारण र अन्य पक्षबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन् ।
यसैबीच, संयुक्त अरब इमिरेट्सले इजरायलतर्फ हुने सबै व्यावसायिक उडान स्थगित गरेको छ । यसका कारण संयुक्त अरब इमिरेट्समा रोकिएका यात्रुलाई स्वदेश फर्काउन इजरायल र संयुक्त अरब इमिरेट्सले विशेष उडान सञ्चालन गर्न थालेका छन् ।
पहिलो विशेष उडान शुक्रबार राति संयुक्त अरब इमिरेट्सबाट प्रस्थान गरी शनिबार बिहान तेल अभिभ पुगेको थियो । अन्य विमान कम्पनीहरूले पनि यात्रु फिर्ता ल्याउन विशेष उडान सञ्चालन गर्ने तयारी गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाबारे प्राप्त प्रारम्भिक जानकारीमा इरानसँग सम्भावित सम्बन्ध देखिएको बताउनुभएको छ । तर अनुसन्धानमा संलग्न एक इजरायली अधिकारीका अनुसार अहिलेसम्म आक्रमणकारीको इरानसँग सम्बन्ध रहेको पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सहचालक अतिवादी विचारबाट प्रभावित भएको दाबी गर्नुभएको छ । यद्यपि, उक्त दाबी पुष्टि गर्ने ठोस प्रमाण भने सार्वजनिक गरिएको छैन ।




प्रतिक्रिया राख्नुहोस्