जन सरोकार

भ्रमण वर्षको शुभारम्भमा हिन्दुको शंख ध्वनि र स्वस्तिवाचनसंगै बौद्धको बौद्धपाठ

बीस लाख पर्यटक भित्र्याउने उद्देश्यसाथ शुरु भएको नेपाल भ्रमण वर्षको दशरथ रङ्गशालामा बुधबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा नेपालको धार्मिक–सांस्कृतिक र प्राकृतिक विविधताको बेजोड प्रस्तुत दिइएको थियो ।

कार्यक्रममा नेपालको बहुधार्मिक सम्प्रदाय एकसाथ आआफ्नो धार्मिक मान्यताअनुसार कार्यक्रमको रौनक थपेका थिए । हिन्दूले शङ्खध्वनी बजाउनुका साथै वैदिक स्वस्ति पाठवाचन गरेका थिए वौद्ध धर्मालम्बीले बौद्ध पाठवाचन गरेका थिए । कार्यक्रममा १०८ बटुक र १०८ बौद्धधर्मालम्बीले उक्त पाठवाचन गरेका थिए ।

बुधबार दिउँसो चार बजेदेखि रङ्गशालामा भ्रमण वर्षको उद्घाटन हुने भनेपछि सर्वसाधारण त्यसअगावै नै रङ्गाशाला पुगेका थिए । निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो शुरु भएको उद्घाटन साँझ ८ः३० बजेसम्म सञ्चालन भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनपछि राष्ट्रिय गीतबाट कार्यक्रम शुरु गरिएको थियो । नेपाली सेनाका टुकडीले देशभक्तिको गीत गाउनुको साथै मञ्च अगाडि नेपाल भ्रमण वर्ष–२०२० को छोटकरी रूप ‘भि एन वाई’ चित्र बनाएका थिए । समारोहमा हिन्दू, बौद्ध, मुस्लिम, जैन, इसाइ, शिख समुदायले आ–आफ्ना पाठ पढेर नेपालमा विभिन्न समुदाय रहन्छन् भन्ने सन्देश दिएका थिए ।

उद्घोषकले समारोहको सञ्चालन नगर्दै नेपाल चलचित्रका महानायक राजेश हमालमञ्चमा देखिएपछि प्यारापिटमा रहेका दर्शकले ‘हुटिङ’ गरेका थिए । सम्बोधनकै क्रममा हमालले नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक रहेको र विभिन्न पर्यटकको आकर्षक गन्तव्य रहेकाले विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।

त्यसपछि पर्यटन व्यवसायी र विभिन्न सङ्घ संस्थाको झाँकी प्रदर्शन गरिएको थियो । पर्यटन व्यवसायीले पर्यटनका सामग्री बोकेर प्रदर्शन गरेका थिए । करिब एक घण्टा विभिन्न जातजाति, भाषा संस्कृतिका झाँकी प्रदर्शन गरिएको थियो ।

शुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा नेपाल घुम्न आउन सबै पर्यटकलाई निम्तो दिँदै आर्थिक विकासको आधार पर्यटनलाई बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले एकताको दिपज्योति प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गर्नुभएको थियो । सोही समारोहमा भ्रमण वर्षको मस्कट ‘यति’को प्रदर्शन गरियो ।

समारोहमा उपस्थित दर्शकले भ्रमण वर्षको मस्टक यति अभिरुचिपूर्वक अवलोकन गरेका थिए । उनीहरू यतिको अगाडि बसेर फोटो खिचाउन व्यस्त रहेका थिए । भ्रमण वर्षको लोगो अङ्कित ब्यानर चार वटा नेपाली सेनाको हेलिकप्टरबाट प्रदर्शन गरिएको थियो ।

राजनीतिक दलका नेताको शुभकामना
भ्रमणवर्ष सफल बनाउनका लागि पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेता र सातवटै प्रदेशमा मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गरेको भिडियो सन्देश देखाइएको थियो । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले भ्रमण वर्षको शुमकामना दिँदै सफल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी सातैवटै प्रदेशमा मुख्यमन्त्रीले आफ्नो प्रदेशको पर्यटकीय क्षेत्रबारे जानकारी गराउँदै भ्रमण गर्न आग्रह गर्नुभयो । समारोहमा विदेशबाट आउनु भएका पर्यटन मन्त्रीहरूले सम्बोधन गर्नुभएको थियो । उहाँहरूले भ्रमण वर्षमा आफ्नो मुलुकबाट बढिभन्दा बढी पर्यटक भित्र्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रङ्गशालाको बीचमा रहेको मञ्चमा देखिने स्क्रीनमा नेपालका विभिन्न पर्यटकीय गन्तव्य, विभिन्न सङ्गीत ब्याण्ड तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको गीत र नृत्य प्रस्तुति गरेका थिए । नेपालको संस्कृति, सम्पदा, वेशभूषा र रहनसहनलाई प्राथमिकता राखेर नृत्य प्रस्तुत गरेका थिए । उद्घाटन सत्रमा भ्रमण वर्षाङ्कित ठूलाठूला सेतो बेलुन उडाइएको थिए ।

समारोहमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेना र मन्त्रिगणकोसमेत उपस्थिति रहेको थियो । मुख्य राजनीतिक दलका शीर्षस्थ नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता सहभागी रहनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.