खेल

लकडाउनमा खेलाडीहरुलाई प्रशिक्षकहरुको सुझाव- व्यायाम र खानपिनमा ध्यान दिऊँ

यतिबेला कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन गरेको छ र यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा खेलाडी र प्रशिक्षक समेत हुन् । कुनै पनि खेलमा राम्रो नतिजा ल्याउन प्रशिक्षणमा नै बढी जोड दिनुपर्ने हुन्छ, प्रशिक्षकले खेलाडीलाई बढीभन्दा बढी अभ्यासमा संलग्न गराउनुपर्छ ।

यदि यस्तो हुन सकेन भने प्रशिक्षक र खेलाडी दुवैले खेलबाट सफलता प्राप्त गर्न सक्दैनन् । तर, परिस्थिति पहिलाको जस्तो छैन । अहिले कोरोना भाइरसका कारण अरु नागरिकसरह प्रशिक्षक र खेलाडी पनि घरमै कैद छन् । यसको दीर्घकालीन असर पर्न सक्ने खतरातर्फ सचेत गर्दै हरेक खेलका प्रशिक्षकले आफ्ना खेलाडीलाई घरमै व्यायाम र खानपिनमा ध्यान दिन सचेत गराउँदै आएका छन् । “मनलाग्दी ढङ्गले खाएपछि ठूलो असर गर्छ”, राष्ट्रिय भलिबलका प्रशिक्षक जगदीशप्रसाद भट्ट भन्नुहुन्छ, “प्रत्येक खेलाडीले व्यायाम र खानपिनमा ध्यान दिनैपर्छ, यसो गर्न नसके धेरै हानी व्यहोर्नुपर्ने हुन्छ ।”

लकडाउन शुरु हुन केही दिनअघि मात्र महेन्द्रनगर घर फर्कनुभएका प्रशिक्षक भट्ट घरमै बसेर आफ्ना खेलाडीसित सम्पर्कमा रहनुभएको छ । उहाँले अधिकांश समय खेलाडीलाई सचेत गराउन सामाजिक सञ्जालको प्रयोग गर्दै आउनुभएको छ । “म देशभरका भलिबल खेलाडीलाई सधैँ सचेत गराउँदै आएको छु”, एशियन सेन्ट्रल जोन महिला भलिबलमा पहिलोपटक स्वर्ण पदक दिलाउनुभएका उहाँले फोनमा कुरा गर्दै भन्नुभयो, “खेलाडीले घरभित्रै वा आँगनमा भए पनि व्यायाम गर्नैपर्छ ।” व्यायाम र खानपिनमा ध्यान नदिए खेलमा दीर्घकालीन असर पर्नेबारे उहाँले खेलाडीलाई सचेत गराउँदै आउनुभएको छ । दुई दशकदेखि उहाँ आफैँ पनि घरमा छोरीहरुका साथ नियमित व्यायाम र भलिबल खेल्दै आउनुभएको छ ।
कैलालीको टीकापुर घर भएका क्रिकेट प्रशिक्षक जगत टमाटा लकडाउनका कारण काठमाडौँमै थन्किनुभयो । छोरा र भान्जाका साथमा बस्दै आउनुभएका उहाँ पनि नियमितरूपमा खेलाडीको सम्पर्कमा रहनुभएको छ । यसका लागि उहाँले पनि सामाजिक सञ्जालको प्रयोग गरिरहनुभएको छ । “सरकारले जारी गरेको लकडाउनको पालना गर्न खेलाडीलाई सचेत गराउँदै आएको छु, यो हाम्रै लागि हो”, उहाँले भन्नुभयो, “खेलाडीले व्यायाम गर्न भने छाड्नुहुन्न, टन्न खाएर सुते बर्बाद हुन्छ भनेर सम्झाउने गरेको छु ।” विगतमा आफैँले खेलेका खेल तथा विश्वका उत्कृष्ट क्रिकेट खेलाडीको खेल प्रदर्शन पाएसम्म युट्युबमा खोजीखोजी हेर्न प्रशिक्षक टमाटाले खेलाडीलाई सल्लाह दिँदै आउनुभएको छ ।

फुटबल प्रशिक्षक रवीन्द्र श्रेष्ठ बाँकेको नेपालगञ्जमा घरमै व्यायाम गरिरहनुभएको छ । चाहे कोठामा होस् वा आँगनमा उहाँ व्यायाम गर्न भने छाड्नुहुन्न । “जुनसुकै परिस्थितिमा पनि प्रशिक्षण र व्यायाम जारी राख्नुपर्छ”, उहाँले सुझाव दिनुभयो, “मैले आफ्ना खेलाडीलाई फोन गरेरै पनि सल्लाह दिँदै आएको छु, यसो नगरे पछि हामीलाई खेलमा फर्कन गाह्रो हुन्छ ।” श्रेष्ठले पनि अहिले सामाजिक सञ्जालको अत्यधिकरूपमा प्रयोग गर्ने गरेको बताउनुभयो ।

कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाट यतिबेला कञ्चनपुरमा खेतीपातीमा व्यस्त हुनुहुन्छ । उहाँलाई खेलाडीको फोन तारन्तार आइरहन्छ । “गहुँ काट्दै थन्क्याउँदै पनि भ्याएसम्म खेलाडीलाई फोनमै सम्झाइबुझाइ गर्ने गरेको छु”, उहाँले भन्नुभयो । उहाँ नियमितरूपमा व्यायाम गर्नुहुन्छ । खेलाडीलाई पनि पछि आउन सक्ने समस्याबारे सचेत गराउँदै आउनुभएको छ । “खेलाडी खाएर सुत्न हुन्न, घरकै काममा सघाएर पनि शरीर तन्दुरुस्त राख्नुपर्छ”, मुख्य प्रशिक्षक भाटको खेलाडीलाई सुझाव छ ।

हाल झापाको विर्तामोडस्थित घरमा रहनुभएका कराँतेका मुख्य प्रशिक्षक मदन उप्रेती बिहान बेलुका नियमितरूपमा अभ्यास गर्न गराउन आफू मातहतका प्रशिक्षक र खेलाडीलाई सल्लाह दिँदै आउनुभएको छ । “खानमा जोड दिने होइन, व्यायाममा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “दिनमा सकभर नसुुत्न भनेको छु, युट्युबमा कराँतेका ‘टेकनिक’ हेर्न सल्लाह दिने गरेको छु ।”

दार्चुलामा कार्यरत कराँते प्रशिक्षक ओमकार गिरी लकडाउन खुलेपछि जिल्लास्तरीय र राष्ट्रपति रनिङ शिल्ड हुने भएकाले खेलाडीलाई तयार भएर बस्न सल्लाह दिइरहेको बताउनुहुन्छ । “घरभित्रै अभ्यास गर्न फोनमा र सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेको छु”, उहाँले भन्नुभयो । कराँते प्रशिक्षक विमल खडायत लकडाउनको बेला घरको छतमै भए पनि नियमित प्रशिक्षण गर्न खेलाडीलाई सल्लाह दिनुहुन्छ । “यति बेला फुर्सदिलो भएर ढुक्कसित बस्ने होइन,” उहाँले भन्नुभयो, “जसरी भए पनि खेलाडीले व्यायाम गर्नैपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.