विश्व समाचार

विश्वभर कोरोनाबाट ३ लाख १३ हजारको मृत्यु, ४७ लाख बढी संक्रमित, चीनको उहानमा पुनः परीक्षण अभियान

कोरोनाभाइरसका कारण आइतबार मध्यान्हसम्म विश्वभर ३ लाख १३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४७ लाख २२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४ घण्टाको अवधिमा ९५ हजार ६०० जना नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ३६० जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ८२९ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख ५१ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ४६६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २१८ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९० हजार ११३ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १५३, स्पेनमा १०४ र फ्रान्समा ९६ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १५ हजार ६३३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ८१६ जनाको ज्यान गएको छ ।

यसैबीच कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि चनिको उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोनाभाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको सङ्क्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन सङ्क्रमित हुनेहरुको संख्या थपिदै गएको छ ।

सरकारी अधिकारीहरुले अहिलेसम्म उहानका मात्रै झण्डै एक करोड दशलाख मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना सङ्क्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय सङ्क्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन लागु गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार कुल सङ्क्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।
चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म चार हजार ६३४ जनाको मृत्यु भएको छ ।

चीनमा गत डिसेम्बरको अन्तिम साता पहिलो पटक कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो । त्यही सङ्क्रमण फैलिदै गएर अहिले संसारभरी पुगेको विश्वास गरिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.