घुयँत्रो- “राजालाई देखाउन ल्याइएको बिजुली, जनताले भोगे सास्ती”
साँच्चै भन्ने हो भने हामी सुर्खेतेले विजुलीको मामलाँ दुःख पाको पन्चहरकै पालादेखि र उनरकै कारणले हो । हुन त पन्चहरुको राजनीति भनेको जनसुविधाका लागि थिएन । उनीहरु त राज्यले दिने सुविधा आँफुहरुले मात्रै पाउनु पर्छ भनेर लागपर्थे ।
शिक्षा, स्वास्थ्य, विजुली, यातायात जस्ता कुराहरुको विकास हुनु हुँदैन, यी चिजहरुले मान्छेलाई चेतनशील बनाउने भएकाले यसको पहुँच जनतासम्म पुग्नु हुँदैन । जनता चेतनशिल भए भने निरंकुश राजतन्त्र र पन्चहरुले हालिमुहाली चलाएको ब्यवस्थामा विरोधी मान्छे जन्मिन्छन् । आफ्नो राँईँदाँईँ चल्दैन भन्ने मान्यता राख्थे ।
त्यसैले पन्चायतका नेताहरु कुनै पनि काम क्षणिक अस्थित्व र राजालाई देखाउने र जसलिने खालका मात्रै गर्थे । तिनै पन्चहरुले मात्र जसलिने योजनाभित्रको काममा पर्छ कोहलपुर वीरेन्द्रनगर विद्युत प्रशारण लाइन । हरेक ५ वर्षमा सुर्खेत भ्रमणमा आउने राजालाई देखाउन रातारात कोहलपुरबाट तार तानेर सुर्खेतमा बिजुली ल्याइयो र अँध्यारोमा राजाको क्याम्प झलमल्ल भयो ।
कोहलपुरदेखि सुर्खेतसम्मको घना जङ्गलको बाटो विस्तारित लाइनका सानातिना रुख काटेर पोल ठड्याएर सुर्खेतमा हिउँदको एकमैना राजा बसुन्जेल बत्ती बल्यो । राजा पनि मख्ख परे पन्चहरुले जनतालाई सुख्ख दिएछन् भनेर आफुहरुले गरेको विकासको पुल बाँधेर राजालाई मख्ख पारेछि राजा पनि खुशी भए ।
पन्चहरुले राजालाई खुसी बनाएछि पन्चहरुले नि तक्मा पाए आफन्तहरुलाई नि तक्मा भिराए तर जब हावाहुरीको सिजन आयो तब यो राजालाई देखाउन ल्याएको अस्थायी लाइन आकाशमा बादल देखिए नि जाने, बढी घाम लाएनि जाने, हावाहुरी चलेनि जाने, अल्लि मोटो मान्छे विजुलिको पोलनजिकबाट हिँडदा हल्लिएर नि जाने, अर्थात हरेक निहुमा सुर्खेतको बत्ती जाने भो ।
यतिन्जेल झुप्राबाट उत्पादन गरिएको वीरेन्द्रनगरलाई मात्र पुग्ने गरी बनेको आयोजना पनि पन्चहरुले खाइसकेका थिए । उता कोहलपुरबाट आउने बत्तीको हरिविजोग थियो । त्यसपछि देश काँग्रेस कमिनिष्टको हातमा गयो । उनीहरुको हातमा गएछि विकास गिर्जा र केपी वलीको वरिपरि घुम्न थाल्यो । सुर्खेतका नेताहरुको ती ठूला नेताहरुसम्म पहुँच पुगेन पहुँच नपुग्दा ४६ सालदेखि अँध्यारोमा बस्न बाध्य सुर्खेतीहरु ऐले नि अँध्यारोमै बसिरहेका छन ।
८४ किलोमिटर दुरीसम्म विस्तारित यो विद्युत लाइनलाई हावाहुरी घाम र शितले कुनै अवरोध नपुर्याएर निरन्तर बत्ती आउने बनाउन कैले राज्यकै निकाय वन कार्यालय, विभाग, मन्त्रालय र त्यसका कर्मचारी बाधक बने भने कैले निकुञ्जका नाममा सरकारी सेना र त्यसका हाकिमहरु बाधक बने तर सरकारले आफ्ना निकाय नै सुर्खेतको बत्तीमा बाधक बनेको कैल्यै देखेनन् ।
बरु जनतालाई कसरी बेबकुफ बनाउन सकिन्छ भनेर ४० वर्षसम्म निरन्तर लागिरहँदा गत वर्षदेखि बल्लबल्ल स्थायी किसिमले बत्ती दिनैपर्ने बाध्यताको महसुस सरकारले गरेर त्यसको काम अघि बढाउँदा जनतामा बढेको खुशी र बत्ती बाल्न पाउने आशामा तुषारापात भएको छ । विगत २ मैनादेखि २ वटा पोल ढलेर उत्ताना टाङ लागेका छन् ।
यो सालको प्रचण्ड गर्मीले मान्छे सुत्न, बस्न, पढन, लेख्न सकिरहेको छैन । हरेक मिनेटमा बत्ती जान्छ । आई नै हाले छ भनेनि भोल्टेजको अभाबले बत्तीले चल्ने कुनै चिज चल्दैनन । बत्तीबाट चल्ने उद्योग, व्यबसाय ठप्पछन । यस्तो दुरावस्थाले गर्दा यहाँका हरेक नागरिकहरु राजनीतिक पहुँचको अभावमा विकास र आयोजनाहरुको हालत के हुन्छ भन्ने कुरा राम्रोसँग बुझ्न बाध्य भएका छन् ।
राज्यले कर्नालिका जनतामा गरेको असमान ब्यवहारले गर्दा यहाँका जनताको जीवनमा समृद्धि कैल्यै छैन जस्तो अनुभूति भै रहेको छ । राणा, पन्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रबाट ऐले बालेनतन्त्र आइपुग्दा समेत राजनीतिमा पहुँच पुगेको मान्छे नभएकै कारण हामी अँझै कति पछि पर्छौँ भन्न सक्ने अबस्था छैन ।
तर, यौटा कुराचाईँ ठोकेरै भन्न के सकिन्छ भने राज्य सत्तामा पहुँच पुर्याउने नेता नभएसम्म विजुली होस कि अस्पताल या होसे युनिभर्सिटी अनि गतिला सडक मार्ग र सन्चार कुनै कुराको निस्फिक्र भोग गर्ने अधिकार हामी कर्नालीबासीलाई छैन । त्यसैले जे छ र जहाँ छ त्यसमै सन्तोष गरौँ । त्यति भएछि सरकार पनि खुशी नेता पनि खुशी यिनीहरु खुशी भएछि जनता किन खुशी हुनपर्यो । हैन र




प्रतिक्रिया राख्नुहोस्