भिरबाट टेम्पो खसालिएको घटना : १० वन कर्मचारी नियन्त्रणमा, छानबिन जारी
कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईबाँधे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनामा प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीले संयुक्त रूपमा १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्ने र घटनाको वास्तविकता बुझ्ने उद्देश्यले सोधपुछ भइरहेको छ।
प्रहरीका अनुसार गाईबाँधे क्षेत्रमा एक महिलाले खुद्रा सामान बिक्रीका लागि प्रयोग गर्दै आएको टेम्पो भिरबाट खसालिएको घटनामा संलग्न कर्मचारीको भूमिका सम्बन्धमा अनुसन्धान भइरहेको छ।
शुक्रबार भीमदत्त राजमार्ग क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारी र वन रक्षकले भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियो सार्वजनिक भएपछि घटनाप्रति व्यापक चासो र आलोचना भएको छ।
यता, डिभिजन वन कार्यालय धनगढीले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त टेम्पो सञ्चालनयोग्य नरही कवाडमा परिणत भइसकेको तथा छाप्रोका रूपमा सडक छेउमा राखिएको दाबी गरेको छ।
कार्यालयले विगतदेखि नै उक्त संरचना हटाउन आग्रह गरिए पनि अटेर गरिएको जनाउँदै शुक्रबार हटाउने क्रममा भिरालो भूगोल र सन्तुलन नमिल्दा टेम्पो अनियन्त्रित भएर भिरमा खसेको स्पष्टिकरण दिएको छ।




प्रतिक्रिया राख्नुहोस्