नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गर्नुभएको छ ।
बुधबार आईसीसी विश्वकप लिग २ खेल्न स्कटयाण्ड प्रस्थान गर्नुअघि सामाजिक सञ्जाल (फेसबुक) मार्फत लामिछानेले क्यानको केन्द्रीय सम्झौतामा आफू नबस्ने धारणा सार्वजनिक गर्नुभएको हो ।
उहाँले यस निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताउनुभएको छ । उहाँले फेसबुक सटाट्समार्फत भन्नुभएको छ, “यो छुट्टिनु होइन, बरू विकास र उद्देश्यतर्फको यात्रा हो ।”
सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै आफ्नो क्रिकेट यात्रा र नेपालली क्रिकेटलाई अघि बढाउन क्यानले उल्लेखनीय भूमिका खेलेको भन्दै आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने बताउनुभएको छ ।
उहाँले राष्ट्रिय टोलीप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने बताउँदै उही जोश र समर्पणका साथ नेपालका लागि खेलिरहने बताउनुभएको छ ।
यो घोषणाले सन्दीप सक्रिय खेल जीवनबाट टाढिन लागेको, विदेश जान लागेको जस्ता अडकलवाजी हुन थालेको छ । सन्दीपको यो घोषणा आकस्मिक नभएर पूर्व तयारी अनुरुप नै भएको क्यानले जनाएको छ ।
यस विषयमा सन्दीपले क्यानलाई पहिले नै जानकारी गराएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । उहाँले सन्दीपको विषयमा क्यानले छलफल गरी छिटै नै निर्णय सार्वजनिक गर्ने बताउनुभयो ।
सन्दीप केन्द्रीय सम्झौताअ न्तर्गत क्याटेगोरी ‘ए’ मा समावेश हुनुहुन्थ्यो । यो क्याटेगोरीमा समावेश खेलाडरूले क्यानबाट मासिक रू एक लाख प्राप्त गर्दै आउनुभएको छ ।
सन्दीपको यो निर्णयलाई उहाँको खेल र खेलाडीप्रतिको जिम्मेवारीपूर्ण निर्णयका रुपमा पनि लिएका छन् । सामाजिक सञ्जालहरुमा पछिल्लो केही समय फिटनेसका कारण टिममा पर्नुभएको थिएन ।
लगातार टिममा नपरे पनि क्याटेगोरी ‘ए’ मा राखेर मासिक एक लाख रुपैयाँ तलब लिनु सन्दीपलाई मन नपरेको र योगदानबिनाको पारिश्रमिक नबुझ्ने उहाँको सोच रहेको पनि प्रतिक्रिया आएका छन् ।





प्रतिक्रिया राख्नुहोस्