क्रिकेटखेल

स्कटल्याण्डद्वारा नेपाल सामू जितको लागि १९५ रनको लक्ष्य, सन्दीपको विश्व कीर्तिमान

विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डले नेपाल सामू जितको लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड ३९ दशमलव १ ओभरमा १ सय ९४ रनमा समेटिएको थियो । स्कटल्याण्डको लागि ब्रान्डन म्याकमुलेनले ४४४ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७३ रनको अर्धशतकीय पारी खेले भने माइकल इंग्लिसले ७२ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै जर्ज मुन्सीले २१, मार्क वाटले २० र रिची बेरिङ्टनले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालको लागि ललित नारायण राजवंशीले चार विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवको भागमा समान एक-एक विकेट रह्यो ।

त्यस्तै नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् । योसंगै उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् ।

काठमाडौँमा जारी आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्डसँग जारी खेलमा ब्राण्डन म्याकमुलनको विकेट लिएसँगै उनले ओडिआई करियरमा आफ्नो १५० विकेट पूरा गरेका हुन् । सन्दीपले ७३ खेलमा यो कीर्तिमान कायम गर्दा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले ७७ खेल खेल्दै १५० विकेट लिएका थिए ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ ।

स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लुइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै १० वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

नेपाल अहिले २६ खेलपछि नौमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । साथै स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।

नेपालको प्लेइङ-११
इशान पाण्डे, आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी

सन्दीपले तोडे स्टार्कको कीर्तिमान, सबैभन्दा कम खेलमा पूरा गरे १५० विकेट

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.