दैनिक दुई घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने डिप्रेसनको जोखिममा
अस्ट्रेलियामा गरिएको एक दशक लामो अध्ययनले किशोरकिशोरीहरूमा सामाजिक सञ्जालको अत्यधिक प्रयोग मानसिक स्वास्थ्यका लागि जोखिमपूर्ण रहेको देखाएको छ।
दैनिक दुई घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीहरूमा डिप्रेसन लगायतका मानसिक समस्या विकसित हुने सम्भावना उच्च हुने पाइएको हो।
अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई)ले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार, उच्च सामाजिक सञ्जाल प्रयोगले एक वर्षभित्र मानसिक स्वास्थ्य समस्यामा उल्लेखनीय वृद्धि गरेको देखिएको छ।
यो अध्ययन अष्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित गरिएको हो। अनुसन्धानमा मेलबर्नका ९ देखि १९ वर्ष उमेर समूहका करिब १,२०० किशोरकिशोरी सहभागी थिए। सन् २०२५ मा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल पहुँचमा प्रतिबन्ध लागू हुनुअघि नै तथ्याङ्क संकलन गरिएको जनाइएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार, सामाजिक सञ्जालमा लामो समय बिताउने, अनलाइन दुर्व्यवहारको सामना गर्ने तथा हानिकारक सामग्रीको सम्पर्कमा आउने किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या बढ्ने जोखिम देखिएको छ।
विशेषगरी १२ देखि १३ वर्ष उमेर समूहका केटीहरूमा यसको असर बढी देखिएको भए पनि दुवै लिङ्गमा जोखिम उच्च रहेको अध्ययनले देखाएको छ।
अध्ययनकी प्रमुख लेखक नन्दी विजयकुमारले प्रारम्भिक किशोरावस्था बालबालिकाको मानसिक विकासका लागि अत्यन्त महत्वपूर्ण चरण भएको बताउनुभएको छ। उहाँ डीकिन विश्वविद्यालयकी वरिष्ठ अनुसन्धान सहयोगी समेत हुनुहुन्छ।
सह–लेखक सुसान सायरले अध्ययन निष्कर्षका आधारमा उमेरअनुसार सामाजिक सञ्जाल प्रयोगमा सीमा निर्धारण, डिजिटल साक्षरता कार्यक्रम विस्तार तथा अभिभावकीय निगरानीलाई सुदृढ बनाउनुपर्ने सुझाव दिनुभएको छ।
यसअघि पनि एमसीआरआईको अनुसन्धानले करिब तीन चौथाइ अस्ट्रेलियाली किशोरकिशोरीले मानसिक तनाव वा चिन्ताको अनुभव गर्ने गरेको देखाएको थियो।




प्रतिक्रिया राख्नुहोस्