एन आर एन न्युज

छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरधाममा हुने

विदेशमा कार्यरत नेपाली तथा नेपाली मूलका स्वास्थ्य विज्ञको ज्ञान, सीप र अनुभवलाई नेपालको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६ आगामी डिसेम्बर ४ र ५ (मंसिर १८ र १९) मा जनकपुरधाममा आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मधेस सरकार र मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्यमा आयोजना गर्न लागेको सम्मेलनको नारा ‘रिभर्स माइग्रेसन विथ ग्लोबल कोल्याबरेसन’ रहेको छ। सम्मेलनले नेपाललाई ‘ब्रेन ड्रेन’बाट ‘ब्रेन सर्कुलेसन’ हुँदै ‘ब्रेन गेन’तर्फ अघि बढाउने लक्ष्य राखेको छ।

बुधबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष प्रा. डा. सुनिल साहले विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीको ज्ञान र सीपलाई स्वदेशको स्वास्थ्य प्रणाली सुदृढीकरणमा उपयोग गर्ने विषयमा सम्मेलनमा छलफल गरिने बताउनुभयो।

सम्मेलनलाई दीर्घकालीन साझेदारी र मापनयोग्य प्रतिबद्धतामा रूपान्तरण गर्न भिजिटिङ फ्याकल्टी, विशेषज्ञ तालिम, अनुसन्धान सहकार्य, मेन्टरसिप, डिजिटल स्वास्थ्य र डायस्पोरा लगानीका अवसरलाई प्राथमिकता दिइने उहाँले जानकारी दिनुभयो।

वैज्ञानिक समितिका अध्यक्ष तथा बेलायतस्थित युनिभर्सिटी अफ चेस्टरका डीन प्रा. डा. पदम सिम्खडाका अनुसार सम्मेलनमा प्रा. जेनी ह्यारिससहित ५० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिक सहभागी हुने निश्चित भएको छ। मधेस प्रदेशका स्वास्थ्य सूचक सुधार गर्ने उपायबारे पनि छलफल गरिने उहाँले बताउनुभयो।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विश्वभर रहेका नेपाली स्वास्थ्य विज्ञको ज्ञान, सीप, अनुभव र स्रोतलाई नेपालको स्वास्थ्य प्रणालीसँग जोडेर सक्षम, समतामूलक र दिगो स्वास्थ्य प्रणाली निर्माणमा योगदान पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो।

सम्मेलनमा सरकारका प्रतिनिधि, चिकित्सक, नर्स, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद्, विकास साझेदार, निजी क्षेत्र तथा विश्वभरका नेपाली स्वास्थ्यकर्मीसहित करिब ३०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई स्वदेशको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने अवसर सिर्जना गर्ने, अन्तर्राष्ट्रिय अस्पताल तथा विश्वविद्यालयबीच सहकार्य बढाउने, चिकित्सा शिक्षा र विशेषज्ञ तालिम विस्तार गर्ने तथा टेलिमेडिसिन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्ने विषय सम्मेलनका प्राथमिकतामा छन्। मधेससहित स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा सेवा सुदृढीकरण र स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धिबारे पनि छलफल हुनेछ।

सम्मेलनबाट ‘जनकपुर डिक्लेरेसन अन रिभर्स माइग्रेसन एन्ड ग्लोबल हेल्थ कोल्याबरेसन २०२६’ जारी गर्ने तथा अनुसन्धान, शिक्षा, विशेषज्ञ आदानप्रदान र स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि ‘जनकपुर ग्लोबल हेल्थ नेटवर्क’ स्थापना गर्ने लक्ष्य राखिएको छ।

जनकपुरधाममा सम्मेलन आयोजना गर्दा स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई काठमाडौँ केन्द्रित सीमाभन्दा बाहिर विस्तार गरी प्रदेश तथा स्थानीय स्वास्थ्य प्रणालीसँग जोड्न सहयोग पुग्ने आयोजकको विश्वास छ।

यसअघि पहिलो सम्मेलन अमेरिकाको एटलान्टा, तेस्रो लन्डन, चौथो सिड्नी र पाँचौँ टोकियोमा आयोजना भएका थिए। कोभिड–१९ महामारीका कारण दोस्रो सम्मेलन भने भर्चुअल माध्यमबाट गरिएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.