राजनीति

संसद विघटन र निर्वाचन घोषणाप्रति कांग्रेस नेताहरुको आआफ्नै तर्क

संसद विघटनपछि यसको बिरोधमा उत्रेको नेपाली कांग्रेसले शनिबार देशभर विरोध प्रदर्शन गर्यो । प्रदर्शनपछि आयोजित सभामा नेताहरुले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले खारेज गर्नुपर्ने बताए भने कतिपय नेताले भने सर्वोच्चले जे निर्णय दिन्छ त्यो आफूहरुलाई मान्य हुने बताए ।

यसै क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने तर्क गर्नुभएको छ । नेपाली कांग्रेस भरतपुर महानगर समितिले शनिबार भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा आयोजना गरेको बृहतसभामा उहाँले वैशाखमा निर्वाचन नहुने दावी गर्नुभयो ।

पौडेलले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेस नै निर्णायक हुने अवस्था आएको भन्दै निर्वाचन हुने भनेर ढुलमुले नीति लिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ ।” आगामी निर्वाचनमा बहुमत आउँछ भनेर नेकपाले चुनाव गर्न खोजेको नभई अर्काको लहैलहैमा संसद् विघटन हुन पुगेको उहाँको भनाइ थियो ।

“संविधानको व्याख्या गर्ने न्यायलय छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो । संसद्मा कुनै अवरोध नभएको र पार्टीमा भएको झगडाले संसद् विघटन गरेर अस्थिरता निम्त्याउन खोजेको आरोप उहाँले लगानुभयो ।

अदालतलाई आफूहरूले दवाव नदिएको बताउँदै उहाँले अदालतलाई संविधान हेरिदिनुस् भनेर अपिल गरेको दाबी गर्नुभयो । आफूहरू सडकमा आउन बाध्य भएको भन्दै उहाँले भन्नुभयो, “लोकतन्त्रको चीरहरण हँुदा कांग्रेस चुप लाग्दैन ।” संविधान जोगाएर मात्रै निर्वाचनमा जानु पर्ने भन्दै नेता पौडेलले भन्नुभयो, “जनताको मतलाई लात हानेर जनताको कुरा गर्न मिल्दैन ।”

कार्यक्रममा कांग्रेस नेतृ डीला सङ्ग्रौलाले र चितवनका सभापति जीतनारायण श्रेष्ठले विगतका निर्वाचनमा अरुलाई भोट दिएर ठूलो गल्ती गरेको बताउनुभयो । उहाँले आगामी चुनावमा कांग्रेसले अन्य चुनाव चिह्नमा भोट नहाल्ने बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश आचार्यले संसद् विघटन हुनुमा प्रधानमन्त्रीसँगै प्रचण्ड र माधव नेपाल पनि दोषी रहेको बताउनुभयो । संसद् विघटनको दोष सिंगो नेकपाले लिनुपर्ने भन्दै उहाँले प्रम मात्र यसको भागिदार नभएको बताउनुभयो । उहाँले संसद् पुनःस्थापना नभएसम्म सङ्घर्ष जारी राख्ने बताउनुभयो ।

सभा सुरु हुनुभन्दा पूर्वकांग्रेसले रत्ननगरमा विरोध ¥याली निकालेको थियो । नगर सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सह–सचिव सूर्य अर्याल, नगरसचिव सीतादेबी शर्मा रेग्मीलगायतले संसद पुनःस्थापना माग गर्नुभएको थियो ।

उता बिराटनगरमा आयोजित सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले न्यायालयमा पुगेको मुद्दाका विषयमा दबाब दिन नमिल्ने चर्चा गर्दै सरकारले घोषणा गरेको निर्वाचन निष्पक्ष, स्वतन्त्र र सहभागितामूलक हुनुपर्ने धारणा राख्नुभयो । केन्द्र्रीय सदस्य डा कोइरालाले अहिलेको सरकारले मन्त्रिमण्डल विस्तार गर्न नुहने भन्दै मुलुक द्वन्द्वमासमेत फस्न नहुने तर्क राख्नुभयो । उहाँले सर्वाेच्च अदालतले न्याय दिने र त्यो न्याय संसद् पुनस्र्थापनाबाट हुने दाबी गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अंसारी र विराटनगर महानगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस महानगर समितिका सभापति भीम पराजुलीले सुविधाजनक बहुमत सरकारले चालेको पछिल्लो कदम संविधान विपरीत छ भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.